December 11th, 2018

आरबीआई गभर्नर उर्जित पटेलले किन दिए राजीनामा ?

बैंकिङ खबर । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राजिनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनाम दिएको उल्लेख गरेपनि भारतको वित्त मन्त्रालय र आरबीआईबीचमा भइरहेको समस्याका कारण उनले राजीनामा दिएको बुझिएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख अर्थशास्त्री मोरिस अब्स्टफिल्डले केन्द्रीय बैंकलाई सरकारले अनावश्यक हस्तक्षेप र दबाब गर्न नहुने धारणा राखेको एक दिनसमेत नबित्दै सोमबार पटेलले राजीनामा दिएका हुन् । 

पछिल्लो समय भारतको बढ्दो महँगी, घट्दो आर्थिक वृद्धिदर, तरलता लगायतका विषयलाई लिएर सरकार र आरबीआईबीच मनमुटाव सिर्जना भइरहेको छ । तरलता, कर्जा विस्तार एवम् कमजोर बैंकहरुमाथिको नियन्त्रण लगायत विभिन्न विषयमाथि भारतको वित्त मन्त्रालय र आरबीआईबीच मतभेद देखिएको छ । 

यस विषयलाई लिएर पूर्व गभर्नर रघुराम राजनले पटेलको राजीनामा पछाडीको मूख्य कारण बुझ्नुपर्ने धारणा राखेका छन् । 

५५ वर्षीय पटेल आरबीआईका २४औँ गभर्नर हुन् । उनी सेप्टेम्बर ५, २०१६ मा गभर्नर नियुक्त भएका थिए । तत्कालीन गभर्नर रघुराम राजनले दोस्रो कार्यकालका लागि अस्वीकार गरेपछि भाजपा सरकारले पटेललाई गभर्नर चुनेको थियो ।