December 10th, 2018

धमाधम ऋणपत्र जारी गर्दै वाणिज्य बैंकहरु : दुई वटाको खुला, दुईको आउँदै

बैंकिङ खबर । ग्लोलब आइएमई बैंकले पनि एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । १५ लाख कित्ता जारी गर्नका लागि बैंकले मङ्सिर १९ गते धितोपत्र बोर्डको अनुमति मागेको छ । ’१०.५५ ग्लोबल आइएमई डिबेञ्चर २०८०’ नाम दिइएको पाँच वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १०.५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित दरको ३ लाख कित्ता सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित १२ लाख कित्ता व्यक्तिगत तबरबाट निजी संस्थाका लागि बिक्रीमा ल्याउने ग्लोबल आइएमई बैंकले जनाएको छ । बोडर्बाट अनुमति पाएपश्चात बैंकले सर्वसाधारणमा ऋणपत्र बिक्रीमा ल्याउनेछ ।

हाल सानिमा बैंकले पुस १ गतेसम्म दुई अर्ब रूपैयाँको २० लाख कित्ता ऋणपत्र निष्काशन गरिरहेको छ । दश वर्ष अवधिको यस ऋणपत्रमा १० प्रतिशत ब्याज प्राप्त हुनेछ । 

सिद्धार्थ बैंकले पनि मंसिर २३ गतेदेखि १०.५ प्रतिशत ब्याजदरमा दुई अर्ब २५ करोड रूपैयाँको २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरिरहेको छ । ऋणपत्रमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।

सिटिजन्स बैंकले पनि एक हजार अंकित दरका २५ लाख कित्ता “सिटिजन्स बैंक बण्ड २०८५” निष्काशन गर्ने प्रक्रिया अघि बढाइरहेको छ । २ अर्ब ५० करोड रुपैयाँको बण्ड जारी गर्न बैंकले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । ऋणपत्र निष्काशनका लागि बैंक नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छ ।