May 27th, 2016

छुट पाएपछि यसरी बढ्दैछ पशुबिमा गर्नेको लहर

insuranceपशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति कृषकको आकर्षण बढ्दै गएको छ । सरकारले ७५ र विमितको २५ प्रतिशत बिमांक रकममा पशुपक्षीको बिमा गर्न सकिने भएपछि कृषकको आकर्षण बढेको हो । चालु आर्थिक वर्षमा अहिलेसम्म पाँच हजार पशुको बिमा गरिएको छ । व्यावसायिक रुपमा पशुपालन गरेका कृषकले बिमा गर्न थालेको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु अधिकृत विष्णुबहादुर पाण्डेले जानकारी दिए ।

जिल्लामा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनीले पशु बिमा गराउँदै आएका छन् । बिमा गर्नेमा अधिकांश व्यावसायिक गाईपालन र भैँसीपालन गर्ने कृषक रहेका छन् । बाख्रा, कुखुरा र बङ्गुरपालन गर्दै आएका कृषकले समेत बिमा गराएका छन् । कृषकलाई व्यवसायमुखी वनाई मुलुकलाई पशुपालनबाट आत्मनिर्भर वनाउने उद्देश्यले सुरु गरेको पशु बिमा अभियान पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । रासस