December 6th, 2018

बैंकहरुबीच व्याज बृद्धिको होडबाजी

बैंकिङ खबर । बैंकहरुबीच व्यक्तिगत मुद्दती खातामा धेरै व्याजदर दिने होडबाजी चल्न थालेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दतीमा लगाएको अधिकतम व्याजदरको सीमा हटाएसँगै निक्षेप तान्नका लागि बैंकहरु धेरै व्याजदरको प्रतिस्पर्धामा लागेका हुन् ।

जनता बैंकले व्यक्तिगत मुद्दतीमा १२ प्रतिशत व्याजदर दिने घोषणा गरेपछि त्यो दरलाई उछिन्दै माछापुच्छ्रेले साढे १२ प्रतिशत पुर्यायो । माछापुच्छ्रेलाई अर्को कुमारी बैंकले पछाडि पार्दै १३ प्रतिशत दिने घोषणा गरेको छ ।

जनताले दिने १२ प्रतिशत व्याजदर पाउनका लागि कम्तीमा १ लाख रुपैयाँ मौज्दात राख्नुपर्छ । माछापुच्छ्रेले यस्तो न्युनतम मौज्दात  ५० हजार रुपैयाँ तोकेको छ । कुमारीले न्युनतम १० हजार मौज्दातमै १३ प्रतिशत दिने घोषणा गरेको छ ।

ति बैंकले सीमित अवधिका लागि यो योजना ल्याएको बताएका छन् ।  अन्य बैंकहरुले समेत व्यक्तिगत मुद्दतीमा व्याजदरको सीमा बढाउने तयारी गरेका छन् । सीमित केही बैंकले मात्रै व्याजदर बढाउँदा भएको निक्षेप पनि खोसिने डरका कारण अन्य बैंकहरुलाई समेत व्यक्तिगत मुद्दतीमा व्याजदर बढाउन दवाव पुगेको छ।

विभिन्न बैंकहरुले सिसिडी रेसियोमा समस्या परेको भन्दै व्याजदरको सीमा हटाउन संघमा दवाव दिँदै आएका थिए । प्राथमिक पुँजी र निक्षेप जोडेर बैंकहरुले दिने कर्जाको हिस्सालाई सिसिडी रेसियो भनिन्छ । यस्तो रेसियो ८० प्रतिशत नाघेमा कारबाही हुने व्यवस्था छ । 

बैंकहरुको दवावपछि संघले व्यक्तिगत मुद्दतीमा कायम राखेको साढे १० प्रतिशतको सीमा मंगलबारदेखि हटाएको हो। बचत तथा संस्थागत निक्षेपमा दिने अधिकतम व्याजदरको सीमा भने यथावत राखिएको छ । बचतमा अधिकतम ७ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतको सीमा छ । 

असोज मसान्तसम्मको सिसिडी रेसियोअनुसार झण्डै १ दर्जन बैंकहरु थप निक्षेप नजुटाएसम्म ऋण दिन नसक्ने अवस्थामा छन् । जसले गर्दा बैंकहरुलाई महँगो लागतका बाबजुत निक्षेप तान्नुपर्ने बाध्यता परेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]