December 3rd, 2018

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा अनिल ज्ञवाली नियुक्त

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा आउनका लागि अन्तिम प्रक्रियामा रहेको छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको बैंकले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जान आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा सीईओ नियुक्ति गरेको हो । 

तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३३ बर्ष अगाडि बैंकिङ करिअर सुरु गरेका ज्ञवाली त्यहाँ माथिल्लो व्यवस्थापनमै नियुक्त भएका थिए । उनी बैंकमा आवद्ध हुँदा अरब बैंकले सञ्चालन अनुमति समेत पाएको थिएन । अमेरिकाबाट पढेर फर्किएको केही समयभित्रै उनी बैंकमा गएका थिए । १९८४ बाट १९९६ सम्म उनले नबिल बैंकमा काम गरे । नबिल छाड्दा उनी त्यहाँ सहायक महाप्रबन्धक थिए । उनले त्यसपछि अमेरिकास्थित सिटी बैंकको नेपाल शाखा प्रमुख भएर काम गरे । सिटी बैंकले नेपाल कार्यालय बन्द गरेपछि उनी सिटीको दिल्लीस्थित कार्यालयमा गएर १२ वर्ष काम गरे । त्यसपछि  ग्लोबल आईएमई बैंक छिरेका उनी चार बर्षे कार्यकाल पूरा हुन बर्ष दिन बाँकी छँदै नबिल बैंक गएका थिए । नबिलमा पूरै कार्यकाल सकेर उनी पुनः ग्लोबल आईएमई बैंकमा छिरेका थिए । तर, कार्यकाल पूरा हुन दुई बर्ष बाँकी छँदै बाहिरिएका थिए । 

२० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो । बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई सेयर जारि गर्ने योजना बनाएको छ । २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक सेयर हुनेछ । पुस दोस्रो सातासम्म बैंक सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको बताइएको छ ।