बैंकिङ खबर । एकातर्फ दिनानुदिन विभिन्न बैंकका शाखा विस्तारित भइरहँदा अर्कोतर्फ आम सर्वसाधारणले बैंकिङ सुविधा पाउनु त कहाँ हो कहाँ सास्ती पाईरहेका छन् । कतिपय बैंकहरुमा अहिलेसम्म हेल्पडेक्सको अभाब वा कमि रहेको छ । बैंकहरुले यस्ता कुरामा ध्यान नदिएको पाईन्छ । यस्ता कारणले गर्दा आम सर्वसाधारणले विभिन्न खालका कस्ट भोग्नु परेको छ ।
बैंकहरुमा शिक्षित तथा स्वस्थ मानिसहरु मात्र जाँदैनन् । कान नसुन्ने, कोही अन्धा, अशिक्षित, बैंकिङ ज्ञान नभएका मानिसहरु पनि बैंकमा जाने गर्दछन् । वृद्धवृद्धाहरु, असाक्षर व्यक्तिहरु पनि बैंक जान्छन् । मानिसहरु बैंकमा खाता खोल्न, खातामा भएको पैसा झिक्न, चेक बनाउन, विभिन्न बिलहरु भरपाई गर्न, खाता रिन्यु गर्न र बैंकका बारेमा सोधपुछ गर्न जान्छन् । यस्तो अवस्थामा उनीहरुलाई सहयोगको आवश्यकता पर्दछ । तर, कतिपय बैंकमा फारम भर्न नजान्ने व्यक्तिहरुलाई असहयोग हुने गरेको छ । कुन प्रयोजनका लागि कस्तो फारम भर्ने नजानेर सोध्दा झर्को मान्ने गर्दछन् कतिपय बैंकका कर्मचारी ।
एकजना अशिक्षित महिला बैंकमा खाता खोल्न गइन् भने सुरुमा त उनलाई सोधपुछ कोसँग गर्ने भन्ने कुराको समेत ज्ञान नहुन सक्छ । बल्लबल्ल सोधपुछ गर्ने सम्बन्धित व्यक्ति पत्ता लगाएर पुग्छिन् र खाता खोल्न चाहेको बताउँछिन् । सोधपुछमा भएको कर्मचारीले उनलाई केकति जानकारी छ भन्ने विषयमा नबुझि हातमा फारम थमाएर भर्न लगाउँछिन् । ती महिलालाई फारममा केके कुरा कहाँ र कसरी भर्ने जानकारी नहुन सक्छ । कर्मचारीको व्यवहारका कारण उनलाई सोध्न पनि अप्ठेरो लागिरहेको हुन सक्छ । यस्तो अवस्थामा उनलाई पूर्ण रुपमा असल व्यवहार र सहयोग चाहिन्छ । यस्ता समस्याका लागि लेख्न नजान्ने व्यक्तिका फर्ममा आफैँ लेखदिने र उनीहरुलाई सहयोग गर्नु बैंकको कर्तव्य हो । यस्तै खाले थुप्रै व्यक्तिहरु बैंकमा आउँदा बैंकका कर्मचारीहरुले ध्यान दिएर सहयोग गर्नुपर्छ । बैंकहरुले पनि यस्तो अवस्थामा सहयोग गर्न सक्ने कर्मचारी छनौट गरी नियुक्त गर्नुपर्छ ।
त्यस्तै, कतिपय बैंकमा त ग्राहक बस्नका लागि बेन्चको समेत व्यवस्था हुँदैन । कतिपय बैंकहरुमा बस्ने व्यवस्था त हुन्छ, तर चेक साटनका लागि मानिसहरु घण्टौँ लाईनमा बस्नुपर्ने अवस्था हुन्छ । मानिसलाई कुनै सुचना चाहिएको भएता पनि समयमा नदिने, सुचना दिने व्यक्ति बाहिर गएको वा सुचना दिन मिल्दैन भनेर सुचना लुकाउने जस्ता समस्या पनि देखा पर्ने गरेका छन् । कतिपय कर्मचारी आफैँलाई पनि बैंकिङ ज्ञान नहुँदा ग्राहकको जिज्ञासालाई बेवास्ता गर्ने वा झर्किने गर्दछन् । बैंकिङ क्षेत्रमा प्रयोग हुने कार्ड, केवाईसी, चेक, मोबाइल बैंकिङ लगायतका सामान्य कुराहरु समेत ग्राहकलाई बुझाउन नसक्ने कर्मचारीहरु कतिपय बैंक शाखामा भेटिन्छन् ।
यसरी बैंकिङ पहुँच नभएका क्षेत्रमा हाल बैंकका शाखा पुगेता पनि त्यही अनुसारका हेल्प डेक्स पुग्न नसकेको अवस्था रहेको छ । यस्ता कारणले सर्वसाधारणहरुले दिनानुदिन सास्ती पाईरहेका छन् । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । अन्यथा, सर्वसाधारणहरु बैंक जान झन्झट मान्छन् र वित्तीय पहुँच विस्तारको अवस्था जहाँको त्यहीँ रहन्छ ।