बैंकिङ खबर । स्वाबलम्बन विकास केन्द्रको संयोजनमा दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । मंसिर १५ र १६ गते दरबारमार्गको याक एण्ड यति होटलमा हुने सम्मेलनमा लघुवित्त कार्यक्रम संचालन गरका ७५ वटा संस्थाहरुको उत्कृष्ट ६०० जना सदस्य तथा संस्था प्रतिनिधिहरु १०० जना गरी करीब ७०० जनाको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।
सम्मेलनमा ३७ वटा लघुवित्त वित्तीय संस्था, १२ वटा फिन्गोे, लघुवित्त कार्यक्रम संचालन गरेका १५ वटा सहकारी संस्था, पाँच वटा वाणिज्य बैंक, तीन वटा विकास बैंक र दुई वटा वित्त कम्पनीका प्रतिनिधि एवम् विभिन्न देशका लघुवित्त कार्यक्रम संचालन गरेका ब्यक्तिको सहभागीता रहने बताइएको छ ।
‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मुल नारासहित आयोजना हुन लागेको लघुवित्त सम्मेलनको मुख्य उद्देश्य लघुवित्तलाई ब्यवस्थाीत बनाउने रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी सदस्यहरुलाई कार्यक्रम पश्चात स्वच्छ लघुवित्त अभियानमा सहभागी गराई गाउँगाउँमा परिचालन गर्ने आयोजकको योजना छ ।
दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
हाल लघुवित्तले नेपालमा कुल एक खर्ब ५० अर्ब ऋण लगानी गरेका छन् भने ६० अर्ब माथि बचत संकलन गरेका छन् ।