May 27th, 2016

यसरी थोपर्दैछ सरकार जनताको थाप्लोमा ऋण

loanपछिल्लो एक वर्षभित्रमा प्रत्येक नेपालीको थाप्लोमा २ हजार रुपैँया ऋणभार थपिएको छ । बिहीबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार गत वर्षभन्दा यसपालि प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋण १ हजार ९ सय १९ रुपैयाँले बढेको छ । गत वर्ष प्रतिव्यक्ति ऋण १९ हजार ४ सय ९६ रुपैयाँ थियो । यस वर्ष भने यो बढेर २१ हजार ४ सय १५ रुपैयाँ पुगेको छ । सरकारले लिएको विदेशी र स्वदेशी ऋणलाई जनसंख्याले भाग गरी यस्तो तथ्यांक निकालिन्छ । 

दस वर्ष अघिको तुलनामा नेपालीको थाप्लोमा थपिएको ऋण झन्डै दोब्बर भइसकेको छ । दस वर्षअघि प्रत्येक नेपालीको थाप्लोमा १३ हजार २ सय १२ रुपैयाँ मात्र ऋण थियो । तर, बर्षेनि सरकारले वैदेशिक र आन्तरिक ऋण बढाउँदै जाँदा जनताको भागमा पनि ऋण बढ्दो छ ।

सरकारले तिर्नुपर्ने कुल ऋण गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले वृद्धि भएको छ । गत वर्षभन्दा ६१ अर्ब ८० करोड ऋण वृद्धि भएको सर्वेक्षणको तथ्यांकमा उल्लेख छ । यस वर्षको अन्त्यसम्ममा वैदेशिक र आन्तरिक गरी नेपालले तिर्न बाँकी ६ खर्ब ६ अर्ब ७० करोड पुग्नेछ । गत वर्ष यो रकम ५ खर्ब ४४ अर्ब ९० करोड मात्र थियो ।

गत वर्षको तुलनामा चालू वर्ष ३० अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण बढेको छ । गत वर्ष २ खर्ब १ अर्ब ७० करोड आन्तरिक ऋण रहेकामा यस वर्ष भने बढेर २ खर्ब ३२ अर्ब ४० करोड पुगेको छ । यसैगरी गत वर्षको तुलनामा ८.३० प्रतिशतले वैदेशिक ऋण वृद्धि भएको छ । गत वर्ष ३ खर्ब ४३ अर्ब ३० करोड वैदेशिक ऋण रहेकामा यसपालि बढेर ३ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ ।