बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले आर्थिक बर्षको सुरुवातमा नै बैंक तथा वित्तीय संस्थाहरुको लगानीको खाका पेश गर्ने नियम बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघद्धारा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले जथाभावी लगानी गर्दा बैंकिङ क्षेत्रमा समस्या आएको उल्लेख गर्दै लगानीको खाका आर्थिक वर्षको सुरुमा नै पेश गर्नुपर्ने नियमको आवश्यकता देखिएको बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको बृद्धिलाई नहेरी कर्जा विस्तारलाई मात्र ध्यान दिएकाले लगानीयोग्य पुँजीको समस्या सिर्जना भएको उनको भनाइ थियो ।
बैंकहरुले स्थानीय निकायमा शाखा विस्तार गरेर पनि ग्रामीण भेगका सर्बसाधारणको पैसा बैंकहरुले निक्षेपको रुपमा ल्याउन नसकेको गभर्नर डा. नेपालले बताए । ६८२ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको उल्लेख गर्दै उनले शाखा विस्तारको तुलनामा निक्षेप संकलन नभएको बताएका हुन् ।
गर्भनर डा. नेपालले बैंकिङ क्षेत्रका कर्मचारी अन्य क्षेत्रका कर्मचारी भन्दा बढी उत्तरदायी हुनेपने्र्र समेत बताए । नेपालका बैंकहरुमा ट्रेड युनियनको सकृयतातर्फ संकेत गर्दै उनले विकसित मुलुकहरुमा ट्रेड युनियन नहुने बताए । का मगर्न नसक्ने कर्मचारीहरु मात्रै ट्रेड युनियनको पछाडी लाग्ने उनको तर्क थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले लगानीयोग्य पुँजी अभावको दिर्घकालाीन समाधानको लागि विदेशी दाताहरुले सरकारी र एनजिओको माध्यमबाट मात्रै नभई बैंक तथा वित्तीय संस्थाको माध्यमबाट पनि लगानी गर्नुपर्ने बताए । त्यस्तै, बैंकहरुलाई बैदेशिक ऋण ल्याउनको लागि सहज वातावरण निर्माण गरिनुपर्ने उनको भनाई थियो ।
त्यस्तै, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले स्थानीय स्तरमा जाँदा बैंकहरुको कस्ट बढेकाले त्यसलाई कभर गर्नको लागि लगानी विस्तार गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । पहिलेको तुलनामा अहिले लगानीको कष्ट समेत बढेको उनले बताए । उनले भने, ‘नयाँ प्रोजेक्टमा लगानी गर्दा पहिलेकै लगानीमा बन्न सक्ने अवस्था छैन ।’ बैंकहरुलाई बैदेशिक ऋण ल्याउनको लागि कानुन बनेको भएता पनि नेपालमा कुनै पनि कम्पनीको क्रेडिट रेटिङ गर्ने ब्यवस्था नभएकोले विदेशीले नेपालका बैंकहरुलाई ऋण दिन समेत नमान्ने उनले बताए । कतिपय बैंकको सीसीडी रेसियो पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगेको भए पनि यो दीर्घकालिन समस्या नरहेको उनले बताए । ‘१।२ महिनाभित्रमा नै सीसीडी रेसियोसम्बन्धी समस्याको समाधान हुन्छ,’ उनले भने ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु नारायण प्रसाद पौडेल, भुवन कँडेल, भिष्मराज ढुङ्गाना र गुणाकर भट्टका साथै नेपाल माईक्रफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष युनियनका सदस्यहरुको सहभागीता रहेको थियो ।