November 25th, 2018

कृषि विकास बैंकबाट बाहिरिँदै सिटौला, नयाँ सीईओका लागि आवेदन माग

बैंकिङ खबर । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बैंकबाट बाहिरिने भएका छन् । यसै महिनाभित्र कार्यकाल सकिने भएपछि उनी बैंकबाट बाहिरिन लागेका हुन् । मंसिर २८ गते उनको पहिलो कार्यकाल सकिँदैछ । नेपाल राष्ट्र बैंकको सेवा निवृत कार्यकारी निर्देशक समेत रहेका सिटौला २०७१ साल मंसिर २८ गते खुला प्रतिस्पर्धाबाट कृषि विकास बैंकमा सीईओ नियुक्त भएका थिए । 

नयाँ सीईओका लागि आवेदन माग
सिटौला दोस्रो कार्यकाल नबस्ने पक्का भएपछि बैंकले नयाँ सीईओका लागि आवेदन माग समेत गरिसकेको छ । आइतबार एक सूचना प्रकाशित गरी बैंकले व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण वा चार्टर्ड एकाउन्टेन्सी उत्तिर्ण गरी बैंकिङ क्षेत्रमा अधिकृतस्तर वा सोभन्दा माथिको पदमा १० वर्ष काम गरेको अनुभव भएको व्यक्तिमार्फत १५ दिनभित्र दरखास्त आह्वान गरेको छ । 

यसरी हुनेछ छनौट
जागिरका लागि आवेदन दिँदा ५ हजार शब्दमा नबढाइकन बिजनेश प्लान बुझाउनु पर्नेछ । पदपूर्ति समितिले शैक्षिक योग्यता र पेश भएको व्यावसायिक कार्ययोजनाको आधारमा आवेदकहरुमध्येबाट ५ जनालाई सर्ट लिस्टमा राख्नेछ । र, त्यसपछि ५ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति गर्न लगाएर राम्रो प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जनामध्ये एक जनालाई सरकारले सीइओमा नियुक्त गर्नेछ । यसरी नियुक्ति भएको सीइओको तलब मासिक २ लाख ५० हजार रुपैयाँ रहने छ । यसबाहेक अन्य सुविधाहरु हुने बैंकले जनाएको छ ।