बैँक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा बिनाको अमेरिकी भिसा योजना जेठ १९ गतेदेखि लागू हुँदैछ । अमेरिकी दूतावासले जेठ १९ गतेदेखि पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा अब बैँक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा नचाहिने व्यवस्था गर्न लागेको हो । सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय बचत गर्न यस्तो व्यवस्था गरिएको दूतावासले जनाएको छ ।
कसरी लिने त भिसा ?
दूतावासका अनुसार अब कागजी प्रक्रिया घटाउनका लागि निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्रसमेत ल्याउनु पर्दैन । पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा राहदानी, पुराना राहदानी, DS-160 कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो, I-20(विद्यार्थी भिसा आवेदकका लागि) र ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) ल्याउनुपर्ने छ । अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने बताएको छ ।
अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेको बताएको छ । कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेकोले यस्तो व्यवस्था गरिएको जनाइएको छ ।