October 30th, 2018

नेपालको बैंकिङ प्रणालीमाथि आईएमएफको टिप्पणी : पुँजीवृद्धि योजनामाथि उठायो प्रश्न

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको बैंकिङ प्रणालीमाथि टिप्पणी गरेको छ । कोषले मंगलबार दक्षिण एसियाका मुलुकहरुको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले तीन बर्षअघि लिएको पूँजी वृद्धि योजनामाथि प्रश्न उठाएको छ ।  चुक्ता पूँजी वृद्धिका कारण बैंकिङ ऋण आक्रामक रुपमा गएको भन्दै मुद्रा कोषले बैंकिङ क्षेत्रको सुधार प्रकृया उल्टिन सक्ने चेतावनी समेत दिएको छ । 

राष्ट्र बैंकको पूँजी वृद्धि योजनापछि निजी क्षेत्रमा ऋण विस्तार दुई बर्षयता २२ प्रतिशतले भएको टिप्पणी मुद्रा कोषले गरेको छ । पूँजी वृद्धि गरेर राष्ट्र बैंकले ऋण विस्तारलाई प्रोत्साहित गरेको भन्दै कोषले प्रणालीमा सुधारको खाँचो रहेको जनाएको छ । नियामकीय संरचना, ऋणको वर्गीकरण, नोक्सानी ब्यवस्थापन र जोखिम ब्यवस्थापनका अभ्यासहरुलाई सुधार गर्नुपर्ने कोषको सुझाव छ । मुद्रा कोषको प्रतिवेदन अनुसार, नेपालका बैंकको खराव ऋण अनुपात २ प्रतिशतभन्दा कम छ ।