बैंकिङ खबर । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडद्वारा संचालित कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीको औपचारिक सुरुवात भएको छ । यसअघि परिक्षणको रुपमा सुरु गरिएको अनलाईन राजस्व भुक्तानी र अनलाईन फण्ड ट्रान्सफरमा प्रयोग हुँदै आएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीको वेभ तथा मोबाइल एपको औपचारिक सुरुवात शुक्रबार (कात्तिक ९ गते) अर्थमन्त्री डा. युवराज खतिवडाले गरे ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेपाल राष्ट्र बैैंकका गभर्नर डा. चिरंजीबि नेपाल, राजस्व सचिव, डेपुटी गभर्नर, महालेखा नियन्त्रक, बैंक वित्तीय संस्थाका प्रमूखहरु लगायतका अन्य उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सिंगल पेमेन्ट्स प्लाटफर्मको रुपमा बैंक खाताबाट गरिने कारोबारहरुलाई प्रोत्साहन गर्ने नेपाल सरकार लगायत नेपाल राष्ट्र बैंकको नीति तथा बैंक खाताबाट अनलाईन गरिने कारोबारलाई समेत पूर्ण रुपमा लागू गर्न यस प्रणालीको स्थापना गरिएको हो ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com अथवा मोबाइल एपबाट आफूलाई एकपटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई सिधै आफ्नो बैंक खातामार्फत कारोबारहरु गर्न सक्नेछन् । सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हँदा कारोबार सहज हुन्छ । यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी रकम ट्रान्सफर लगायत अन्य सेवाहरु पनि समावेश गरिएको छ । क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर, ब्रोकरको भुक्तानी लगायतका अन्य भुक्तानीहरु पनि सजिलै गर्न सक्ने भएको छ । अनलाईन मार्फत प्रति कारोबार रु. १ लाख सम्मको भुक्तानी गर्न सकिने छ भने मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी गर्न सकिनेछ ।
यस प्रणालीमा हालसम्म ४४ बैंक तथावित्तीय संस्थाहरुले सम्झौता गरिसकेको छ भने ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ । कम्पनीले यस प्रणालीमा अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आवद्ध गराउँदै लैजाने योजना बनाएको छ ।
उक्त प्रणालीलाई सिंगल पेमेन्ट्स प्लाटफर्मको रुपमा स्थापित गर्न बैंक वित्तीय संस्था लगायत अन्य PSPs(भुक्तानी सेवा प्रदायक) हरुलाई पनि आवद्ध गरेको छ । यस प्रणालीको पूर्ण सञ्चालन पश्चात नेपाल सरकारलाई बुझाउने कर, शुल्क वा दस्तुर लगायत अनलाईन रकम ट्रान्सफर तथा ई–कमर्श मार्फत सेवा/वस्तुहरुको भुक्तानीहरु बैंक खाताबाट सोझै गर्न सकिने हुन्छ भने नेपालको राष्ट्रिय भुक्तानी प्रणाली पूर्वाधारलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन समेत सहयोग गर्ने विश्वास कम्पनीले लिएको छ ।