May 26th, 2016

नाफा बढाउँदै निर्जिवन विमा कम्पनिहरु, लगानी विस्तार गर्न नसक्दा यस्तो हाल

insuranceहालसम्म प्रकाशित १४ कम्पनीको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बिमा कम्पनीहरूले १ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । कम्पनिहरुले गत वर्षकोभन्दा १९ प्रतिशतले बढी मुनाफा आर्जन गरेका हुन् । गत आवको सोही अवधिमा यी कम्पनीहरूको नाफा १ अर्ब २ करोड रुपैयाँ थियो ।

वित्तीय विवरणअनुसार, चालू आवको चैत्र मसान्तसम्ममा कम्पनीहरूको आम्दानी २४ प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीहरूको आम्दानी २ अर्ब ५२ लाख पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६१ करोड रुपैयाँ मात्रै थियो । चैत महिनासम्ममा कम्पनीहरूले सम्भावित जोखिमबापत छुट्ट्याएको ठूलो रकम उठाउन पनि सफल भएका छन् । सो अवधिसम्ममा कम्पनीहरूको १ करोड ८३ लाख रुपैयाँ व्यवस्था फिर्ता भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब पौने ३ गुणाले बढी हो । गत आवको सोही अवधिमा यस्तो फिर्ता रकम ६६ लाख ५५ हजार मात्रै थियो । कम्पनीहरूले पुनर्बिमाबापत पाउने कमिसनको आय पनि १५ प्रतिशतले बढेको छ । चालू आवको नौ महिना अवधिसम्म यस्तो आय ८४ करोड ७० लाख पुगेको छ । गत आवमा भने यस्तो आय ७३ करोड ३७ लाखमा सीमित थियो ।

त्यस्तै, तेस्रो त्रैमास अवधिसम्ममा कम्पनीहरूको दीर्घकालीन लगानी १४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने अल्पकालीन लगानी घटेर ८ अर्ब ७ करोडमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीहरूको अल्पकालीन लगानी ८ अर्ब १५ करोड थियो । यो अवधिमा निर्जीवन बिमा कम्पनिहरुको लगानीबाट प्राप्त हुने आम्दानी पनि घटेको छ । यस्तो आय ४७ प्रतिशतले घटेर २८ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आय ५३ करोड ८३ लाख थियो । 

लगानी विस्तार गर्न नसक्दा
लगानी विस्तार गर्न नसक्दा कम्पनीहरूको बैंकमा नगद जम्मा हुने क्रम बढेको छ । सो अवधिसम्ममा बैंकमा कम्पनीहरूको ३ अर्ब २ करोड रुपैयाँ नगद जम्मा भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीहरूको खर्च भने बढेको छ । कम्पनीहरूको खर्च ३१ प्रतिशतले बढेर ७७ करोड ८६ लाख पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो खर्च ५८ करोड ९९ लाखमा सीमित छ । कम्पनीहरूले खुद बिमाशुल्कको १.५ प्रतिशत रकम खर्च गर्न पाउँछन् । बिमा समितिले गरेको व्यवस्थाअनुसार कम्पनीहरूले व्यापार प्रवद्र्धन, विविध खर्च, विज्ञापन तथा अतिथि सत्कारबाहेक अन्य शीर्षकमा खर्च गर्न पाउँदैनन् ।