Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नाफा बढाउँदै निर्जिवन विमा कम्पनिहरु, लगानी विस्तार गर्न नसक्दा यस्तो हाल

२०७३ जेष्ठ १३ गते

insuranceहालसम्म प्रकाशित १४ कम्पनीको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बिमा कम्पनीहरूले १ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । कम्पनिहरुले गत वर्षकोभन्दा १९ प्रतिशतले बढी मुनाफा आर्जन गरेका हुन् । गत आवको सोही अवधिमा यी कम्पनीहरूको नाफा १ अर्ब २ करोड रुपैयाँ थियो ।

वित्तीय विवरणअनुसार, चालू आवको चैत्र मसान्तसम्ममा कम्पनीहरूको आम्दानी २४ प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीहरूको आम्दानी २ अर्ब ५२ लाख पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६१ करोड रुपैयाँ मात्रै थियो । चैत महिनासम्ममा कम्पनीहरूले सम्भावित जोखिमबापत छुट्ट्याएको ठूलो रकम उठाउन पनि सफल भएका छन् । सो अवधिसम्ममा कम्पनीहरूको १ करोड ८३ लाख रुपैयाँ व्यवस्था फिर्ता भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब पौने ३ गुणाले बढी हो । गत आवको सोही अवधिमा यस्तो फिर्ता रकम ६६ लाख ५५ हजार मात्रै थियो । कम्पनीहरूले पुनर्बिमाबापत पाउने कमिसनको आय पनि १५ प्रतिशतले बढेको छ । चालू आवको नौ महिना अवधिसम्म यस्तो आय ८४ करोड ७० लाख पुगेको छ । गत आवमा भने यस्तो आय ७३ करोड ३७ लाखमा सीमित थियो ।

त्यस्तै, तेस्रो त्रैमास अवधिसम्ममा कम्पनीहरूको दीर्घकालीन लगानी १४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने अल्पकालीन लगानी घटेर ८ अर्ब ७ करोडमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीहरूको अल्पकालीन लगानी ८ अर्ब १५ करोड थियो । यो अवधिमा निर्जीवन बिमा कम्पनिहरुको लगानीबाट प्राप्त हुने आम्दानी पनि घटेको छ । यस्तो आय ४७ प्रतिशतले घटेर २८ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आय ५३ करोड ८३ लाख थियो । 

लगानी विस्तार गर्न नसक्दा
लगानी विस्तार गर्न नसक्दा कम्पनीहरूको बैंकमा नगद जम्मा हुने क्रम बढेको छ । सो अवधिसम्ममा बैंकमा कम्पनीहरूको ३ अर्ब २ करोड रुपैयाँ नगद जम्मा भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीहरूको खर्च भने बढेको छ । कम्पनीहरूको खर्च ३१ प्रतिशतले बढेर ७७ करोड ८६ लाख पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो खर्च ५८ करोड ९९ लाखमा सीमित छ । कम्पनीहरूले खुद बिमाशुल्कको १.५ प्रतिशत रकम खर्च गर्न पाउँछन् । बिमा समितिले गरेको व्यवस्थाअनुसार कम्पनीहरूले व्यापार प्रवद्र्धन, विविध खर्च, विज्ञापन तथा अतिथि सत्कारबाहेक अन्य शीर्षकमा खर्च गर्न पाउँदैनन् ।