October 17th, 2018

लघुवित्तको सहाराले दिलायो सफलता, खुद्रा पसलबाटै मासिक २५ हजार आम्दानी

बैंकिङ खबर । कालीकोट जिल्ला ओदानू गाउँपालिका—घ मा बस्ने वर्ष ४६ की राजु सिंह आचार्य एक सफल खुद्रा व्यवसायी बनेकी छिन् । हाल उनले मासिक २५ हजार रुपैयाँ आम्दानी गर्दै आएकी छिन् । घर परिवारबाट पनि व्यापारमा राम्रो सहयोग पाएकी आचार्यले आफ्नो आर्थिक अवस्थामा सुधार गर्दै गएकी छिन् । 

किराना पसलको आम्दानीबाट घर खर्च तथा छोरा छोरीको पढाइ खर्च ब्यहोरेर बाँकी रकम बैंक खातामा जम्मा गरी खाडाचक्र न.पा.—१ मान्मा बजारमा चार लाख पर्ने घडेरी किन्न सफल भइन् । छिमेकीहरुमा प्रसंशनीय भएकी आचार्य आगामी दिनमा आफनो व्यवसाय अझै विस्तार गर्ने सांचमा छिन् । 

वि.सं. २०२८ साउन ५ गते बुबा धन बहादूर सिंह र आमा कर्मा सिंहको पहिलो सन्तानको रुपमा जन्मिएकी उनको घरको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अभावले सामान्य लेखपढ गर्नसम्म नसकेकी उनको बुबा आमाको सल्लाह अनूसार कालीकोट सुकाटिया—७ बस्ने बिष्णू प्रसाद आचार्यसँग विवाह भयो ।

पहिले घरमा पनि आर्थिक अवस्था खासै राम्रो नभएकोले विवाहपछि कालीकोट सदरमूकाम मान्मा गएर कोठा भाडामा लिइ सानो खुद्रा पसल ब्यवसाय गर्न सुरु गरिन् । ब्यवसाय गर्न रकमको अभाव भएकाले गाह्रो भएको अनूभव सूनाउँछिन् ।  

केही समयपछि वि.सं. २०७१ सालमा निर्धन उत्थान बैंक लिमिटेडको मान्मा शाखाबाट स्थापित सेरापाटा महिला समुहमा आवद्घ भइ २० हजार रुपैयाँ कर्जा लिइ सानो किराना पसल ब्यवसाय संचालन गरिन् । त्यसबाट केही नाफा आर्जन गरेको महशूस गरी वि.सं. २०७२ सालमा पुनः ६० हजार रुपैयाँ थप कर्जा लिई व्यवसाय बढाइन् । ब्यापारबाट आएको आम्दानीबाट घर खर्च, छोराछोरीको पढाइमा खर्च गरी बाँकी रकम निर्धन बैंकको खातामा जम्मा गर्ने गरिन् ।   

वि.सं. २०७३ सालमा एक लाख रुपैयाँ थप कर्जा लिई खाद्य सामग्री थप गरेर ब्यवसाय अझ बढाइन् । ब्यवसायमा उनका श्रीमान्ले पनि सघाउँदै आएका छन् । वि.सं. २०७४ सालमा पुनः एक लाख ७५ हजार रुपैयाँ कर्जा लिएर उनले व्यवसायलाई थप विस्तार गर्दै लगिन् । 

पसलको आम्दानीले उनले छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउँदै आएकी छिन् । आपूले् कल्पना गरेको सफलता, इच्छा र पारिवारिक समस्या समाधान गर्न सहज भएकाले निर्धन उत्थान बैंक नै आफ्नो जीवनको सारथि भएको उनी बताउँछिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]