October 4th, 2018

माथिल्लो दोर्दी “ए” को ८० प्रतिशत काम पूरा, फागुनमा सक्ने टार्गेट

बैंकिङ खबर । लिबर्टी इनर्जी कम्पनी लि. ले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मे.वा.को माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको २६२३ मिटर सुरुङ बिहीबार अर्थात् २०७५ असोज १८ गते सम्पन्न (सुरुङ छेडिएको) भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक संचालक आत्माराम घिमिरेले स्चीच अल गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरे ।

सो कार्यक्रममा १.गण्डकी प्रदेश  लम्जुङ क्षेत्र नं १ का सांसद धनन्जय दवाडी, नेकपा जिल्ला संयोजक कृष्ण अधिकारी, नेपाली काँगे्रस जिल्ला सदस्य हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा,  जंग गणका गणपति शिखर जबराको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशीले लक्षित समयभित्रै विद्युत उत्पादन गर्ने प्रतिबद्धता जनाए । उत्पादित विद्युत खेर नजाने कुरामा कम्पनी विश्वस्त रहेको पनि उनले बताए ।

यस्तै, संसद धनन्जय दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माण क्रममा देखिने समस्या समाधान गर्न राजनीतिक दल र स्थानीयको पूर्ण सहयोग हुने पनि बताए ।

राजनीतिक दल, स्थानीय, सरकारी निकाय तथा सरोकार समिति र कम्पनीका सम्पूर्ण कर्मचारीको सहयोगले समयमै सुरुङको काम पूरा भएको प्रबन्ध निर्देशक घिमिरेले बताए । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको पनि उनले उल्लेख गरे ।

यसैगरी, सञ्चालकहरु राम बहादुर पाण्डे, राजेन्द्र वस्ती, दोर्दी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र सरोकार समितिका अध्यक्षको उपस्थिति थियो । आयोजनाको हेडवक्र्सदेखि २६२३ मिटर सुरुङ्ग र २८५४ मिटर पेनस्टक पाईप निर्माण रहनेछ ।

हालसम्म आयोजनाको करिब ८०% निर्माण पूरा भएको छ । आगामी फागुनसम्म आयोजनाका सम्पूर्ण संरचना निर्माण तथा उपकरण जडान गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । ३ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म २ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ खर्च भएको कम्पनीका सञ्चालक पाण्डेले जानकारी दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]