October 1st, 2018

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका पाँच शाखा थपिँदै, कहाँकहाँ खुल्दैछन् ?

बैंकिङ खबर । बुटवल—११, कालिकानगर, रुपन्देही स्थित केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले थप ५ वटा नयाँ शाखा कार्यालयहरु खोल्ने भएको छ । बैंकले नवलपरासी जिल्लाको सुनवल–१२, भुमही र देवदह–९, भलुही एवम् रुपन्देही जिल्लाको सैनामैना–६, रामापुर, तिलोत्तमा–१५, मधौलिया, र वुटवल–८, सुख्खानगरमा नयाँ शाखाहरु खोल्न प्रक्रृया अगाडी बढाएको बैंक स्रोतले जनाएको छ । प्रस्तावित शाखा कार्यालयहरुको संचालन सँगै बैंकको शाखा संख्या २२ पुग्ने छ । 

अधिकृत पूँजी ६० करोड रुपैयाँ, जारी तथा चुक्ता पूँजी ५२ करोड ६३ लाख ९४ हजार नौ सय रुपैयाँका साथै रुपन्देही, नवलपरासी, नवलपुर र चितवन गरी चार जिल्ला कार्यक्षेत्र भएको उक्त बैंकले रुपन्देहीका  बुटवल, सौ. फर्साटिकर, रानिवगिया, मणिग्राम, सिद्धार्थनगर, शंकरनगर, शिवपुर, अमवा, लखनचोक, मानपकडी, बेल्वास र कालिकानगर, नवलपरासीका भुताहा र बेलाटारी, नवलपुरको अरुणखोला तथा चितवनको टाँडी र बुद्धचोक शाखा कार्यालयहरुबाट निशुल्क एविविएस, एटिएम, लकर, सन्ध्याकालीन, एसएमएस, आइपिएस, सि–आश्बा  लगायतका अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

गत भाद्र मसान्तको अपरिष्कृत तथ्याङ्क अनुसार बैंकले २ अरब ७० करोड निक्षेप परिचालन, २ अरब ४० करोड लगानी गरेको छ भने २०७५ असार मसान्तको निस्क्रिय कर्जाको प्रतिशत ०.५९ रहेको छ । बैंकको सञ्चालक समितिले गत आर्थिक बर्षको खुद मुनाफा तथा शेयर प्रिमियमवाट कायम चूक्ता पूँजीको नगद लाभांश र बोनस शेयर गरी ७ दशमलव ४२ प्रतिशत (६ दशमलव ४२ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस  शेयर) वितरणको लागी प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा २४ प्रतिशतले खुद मुनाफामा वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले जानकारी दिए ।