September 30th, 2018

एक महिनामा झन्डै ७४ अर्ब रेमिट्यान्स भित्रियो

बैंकिङ खबर । एक महिनामा नेपालमा विभिन्न मुलुकहरुबाट झन्डै ७४ अर्ब रेमिट्यान्स भित्रिएको छ । गत साउन महिनामा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो रेमिट्यान्स गत वर्षको साउन महिनाको तुलनामा ३३.१ प्रतिशत बढी  हो ।

रेमिट्यान्स बढे पनि  वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको छ । साउन महिनामा २० हजार आठ सय २४ जना नेपाली वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । 

यो अवधिमा खुद ट्रान्सफर आय भने ३५.३ प्रतिशतले वृद्धि भई ८४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।