September 28th, 2018

विराटनगरमा पुँजी बजार प्रदर्शनी हुँदै, तयारी अन्तिम चरणमा

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा सहभागी संस्थाहरुसँगको सहकार्यमा पुँजी बजार प्रदर्शनी, २०७५ को आयोजना गर्ने भएको छ । बोर्डले प्रदेश नं १ मा वित्तीय बजारको पहुँच पुगेको अवस्थामा यस क्षेत्रका इच्छुक नागरिकहरुलाई धितोपत्र बजार सम्बन्धी ज्ञान र आवश्यक सेवाहरु एकै थलोमा उपलब्ध गराउने उद्देश्यले बृहत रुपमा पहिलो प्रादेशिक पूँजीबजार प्रर्दशनी, २०७५ को आयोजना गर्न लागेको हो । आगामी असोज १९ र २० गते विराटनगरको मेन रोडस्थित जैन भवनको प्राङ्गणमा आयोजना हुन लागेको प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

प्रदर्शनीमा सेयर बजारसम्बन्धी सबै औजार तथा सेवाको जानकारी पाइनेछ । एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भका रुपमा निःशुल्क रुपमा डिम्याट खाता खोल्ने अवसर समेत प्रदर्शनीमा पाइनेछ । यसबाहेक, सम्बन्धित विषयमा विज्ञहरुसँग सिधा प्रश्नोत्तर गर्ने अवसर, आर्थिक, बैकिङ्ग र पूँजीबजार सम्बन्धी प्रादेशिक परिसूचकको विमोचन, धितोपत्र बजार सम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनहरुको निःशुल्क वितरण, लगानीकर्ता साक्षरता र धितोपत्र व्यवसायी सम्बन्धी जानकारी, प्राथमिक र दोस्रो बजारको बारेमा जानकारी एवम् बजारमा आधारित पूँजी परिचालन व्यवस्था सम्बन्धी जानकारी प्रदर्शनीका मूख्य आकर्षण रहेका छन् । त्यस्तै, प्रदेश तथा स्थानीय निकायको विकास निर्माणका लािग आवश्यक पूँजी परिचालनको सम्भावनाका सम्बन्धमा जानकारी विज्ञहरुबाट पाइनेछ भने पूँजी बजारका सम्बन्धमा प्रस्तुति तथा अन्तरक्रियाका साथै विज्ञहरुबीच अन्तरक्रिया एवम् छलफल तथा पूँजी बजारसम्बन्धी अन्य विविध जानकारी पुँजी बजार प्रदर्शनीमार्फत पाइनेछ ।

प्रदर्शनीमा नयाँ लगानीकर्ताहरु सहित लगानीकर्ताहरुका लागि यस सम्बन्धी सम्पूर्ण सूचना तथा जानकारी उपलब्ध हुनेछ । साथै, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्रबोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ्ग संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्य, धितोपत्रको प्राथमिक निष्काशनमा दरखास्त संकलन गर्ने आस्वा सदस्य संस्थाहरुले आफ्ना सेवाकाबारेमा विवरण तथा जानकारी समेत पाइनेछ ।

प्रदर्शनी हरेक दिन विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछ ।