Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आशा लघुवित्तले एकैसाथ विस्तार गर्यो पाँच नयाँ शाखा 

२०७५ आश्विन ११ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले २०७५ आश्विन ११ गते एकै दिन पाँच वटा नयाँ शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । थप गरिएका शाखा कार्यालयहरु सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा स्थापना गरिएका छन् । शाखा कार्यालयहरु थप गरिएपछि वित्तीय संस्थाको जम्मा शाखाहरुको संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातै वटा प्रदेशहरुमा शाखाहरु विस्तार गरेको छ ।

स्थानीय जनप्रतिनिधिहरुको सहभागीतामा शाखाहरुको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकामा नगरप्रमुख हस्तबहादुर पुन, गौरिगंगा नगरपालिकामा वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारी, आदर्श कोटवाल गाउँपालिकामा गा.पा. प्रमुख मुस्तफा अन्सारी, पटेर्वा सुगौली गाउँपालिकामा गाउँपालिका प्रमुख  हरिनारायण चौधरी थारु तथा मौलापुर नगरपालिकामा नगर उपप्रमुख गौरीशंकर प्रसाद जयसवालले शाखा कार्यालयहरु उद्घाटन गरे । उद्घाटनका अवसरमा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । 

विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित यस राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाले पहुँच अभिवृद्धिका क्रममा शाखाहरु स्थापना गरेको तथा संस्थाले आगामी दिनहरुमा अझ सहज र प्रभावकारी रुपमा वित्तीय सेवा प्रवाह गर्ने जानकारी प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले दिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले ३४ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको रु. १ अर्ब ३६ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट २८ करोड निक्षेप संकलन गरेको छ । संस्थाले आर्थिक वर्ष २०७४।०७५मा एक करोड १० लाख खुद मुनाफा आर्जन गरेको छ ।

Ad