September 26th, 2018

बैंक शाखा खुलेसँगै गाउँगाउँमा बैंकिङ कारोबार बढ्दै

रसुवाको दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीयवासीले रकम बचत गर्न थालेका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौ महीनामा जनता बैंकको शाखा कार्यालय स्थापना भएपछि त्यस भेकका किसानले बैंकिङ कारोबार गर्न थालेका छन् । 

अहिलेसम्म ३०० भन्दा बढी स्थानीयवासीले बैकिङ कारोबारमा संलग्न भएका छन् । असोज महीनाको शुरुदेखि नै दैनिक रुपमा सरदर २०।२५ जना बैंकमा खाता खोल्न आउने गरेको धुञ्चेस्थित जनता बैंकका प्रमुख ब्रजेश अर्यालले जानकारी दिए । कालीकास्थानबाट १० कोषको दूरी पूर्वमा रहेको पारच्याङमा नौकुण्ड गापाको केन्द्रसमेत रहेको र नेपाल प्रहरीको सुरक्षा चौकीसमेत रहेकाले स्थानीयवासीलाई बैंकिङ सेवा प्रदान गर्न शाखा स्थापना गरिएको जनता बैंकले जनाएको छ ।

पारच्याङमा बैंक स्थापना भएपछि ग्रामीण किसानले बोका, बाख्रा, कुखुरा, हाँस एवं कृषिउपज बिक्रीबाट प्राप्त आयको थोर बहुत रकमसमेत बचत गर्न थालेका छन् । बैंक खुलेपछि यार्सा पारच्याङ पाटीखर्क, सरमथली, फाम्चेत, मञ्जुचेत, चिलाउनेगाउँ घिचेतलगायत गाउँका किसान हर्षित भएको समाजसेवी हितबहादुर न्यौपानेले बताए ।

सात÷आठ वर्ष अघि धुञ्चेबाट स्थापना शुरु भएको जनता बैंकले नेपाल चीनबीचको सीमा क्षेत्र टिमुरे र कालिका गापाको कालीकास्थानमा स्थापनासमेत गरी बैंकिङ सेवा प्रदान गरी रहेको बताइएको छ । जनता बैंकको रसुवाको धुञ्चे शाखामा निक्षेप भने रु २९ अर्ब र ऋण लगानी साढे आठ करोड रहेको बैंकका शाखा प्रमुख अर्यालले जानकारी दिए । चार वटा बैंकमा २५ हजार स्थानीयवासीले बचत खाता खोलिसकेको जनाएको छ । रासस