September 24th, 2018

नागरिक लगानी कोषले कार्यकारी निर्देशक माग्यो, केके चाहिन्छ योग्यता ?

बैंकिङ खबर । नागरिक लगानी कोषले रिक्त रहेको कार्यकारी निर्देशक पदको लागि विज्ञापन खुला गरेको छ । दुई साता अगाडि कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले राजिनामा दिएपछि उक्त पद रिक्त भएको थियो । 

कोषले खुला प्रतिष्पर्धाबाट रिक्त पद पदपुर्ति गर्न असोज २२ गतेसम्म गोप्य आवेदन आह्वान गरिएको छ । इच्छुक आवेदकले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा खामबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ ।

कार्यकारी निर्देशकको लागि स्तानकोत्तर गरि उद्योग बाणिज्य वा बैंकिङ क्षेत्रका संस्थाको कम्तिमा राजपत्राङ्कित प्रथम श्रेणी, सार्वजनिक निकायको दशौं तह वा सो सरहको जिम्मेवारी लिइसकेको हुनु पर्नेछ । त्यस्तै, निजी क्षेत्रको पूँजी बजार सम्बन्धी संस्थाहरुको व्यवस्थापकीय तहमा कम्तिमा १५ वर्षको कार्यानुभव पनि हुनुपर्नेछ । उमेर ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेका हुनुपर्नेछ ।  

आवश्यक कागजपत्रका साथै आवेदकले ५ हजार शब्दमा नबढ्ने गरि व्यावसायिक कार्ययोजना समेत पेश गर्न आह्वान गरिएको छ । कार्ययोजना तोकिएको मितिमा प्रस्तुतीकरण गर्नु पर्नेछ ।