चालू आर्थिक वर्ष ०७२/७३ को तेस्रो त्रैमासिक अवधिमा जीवन बिमा कम्पनीहरूले ५६ अर्ब ५६ करोड रुपैयाँ बिमा शुल्क आम्दानी गरेका छन् । गत आवको तुलनामा जीवनविमा कम्पनिहरुले बिमा शुल्कवापत ३६ प्रतिशत बढी आम्दानी गरेका हुन् । कम्पनीहरूले गत आवको सोही अवधिमा ४१ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको थिए । चालू आवको पहिलो नौ महिनामा बिमा कम्पनीहरूले गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी अर्थात् ३२ लाख २१ हजार ८७ बिमालेख जारी गरेका छन् । गत वर्षको सोही अवधिमा बिमा कम्पनीहरूले २६ लाख ६० हजार ४ सय ७३ बिमालेख जारी गरेका थिए । नेपालमा ७ वटा जीवन बिमा कम्पनिहरु रहेका छन् ।
बिमाप्रति आकर्षण बढ्नुका कारणहरु
भूकम्पपछि बिमाप्रति आकर्षण बढ्न थालेको छ । भुगर्भविद्हरुले भूकम्पीय दृष्टिले नेपाल अझै पनि जोखिमयुक्त भएको दाबी गरेपछि बिमा गर्नेको संख्या बढ्न थालेको पाइएको छ । गत वर्षको वैशाखमा गएको भुकम्पमा परि झन्डै ९ हजारले ज्यान गुमाउँदा विमा दाबी गर्नेको संख्या एकदमै न्यून पाइयो । जतिले पनि दाबी गरे, उनीहरुले पाएको भुक्तानी देखेर पनि अन्यले विमाको महत्व बारे पाठ सिकेको देखिन्छ ।
यति बेला बिमा कम्पनीहरू बजारमा एकदमै प्रतिष्पर्धात्मक तवर उत्रिएका छन् । यसले पनि बिमा व्यवसाय बढ्नमा थप टेवा पुगेको देखिन्छ । यस्तै अवस्था रहने हो भने अबको ४ देखि ५ वर्ष्भित्रमा हामीले नेपालको विमा क्षेत्रको पूर्ण परिवर्तित रुप देख्न पाउने दाबी गर्छन् लाइफ इन्स्योरेन्स कम्पनिका डेपुटी जेनेरल मेनेजर अभिजीत घोष । उनी भन्छन्, “जनताहरुमा चेतना जगाउनका लागि बिमा कम्पनिहरु एकदमै गतिशील भएर लागिरहेकाले अब विमा क्षेत्र फस्टाउन धेरै समय लाग्दैन । विमा क्षेत्रबाट विभिन्न सचेतना तथा जनतासँगको अन्तक्र्रियाका कार्यहरुले गति पाइरहेकाले अब विमा क्षेत्रको प्रगतिको दिन टाढा छैन ।”
त्यस्तै, भारतले लगाएको अघोषित नाकाबन्दीले बिमा व्यवसायको वृद्धि केही खुम्चिएको भएपनि स्थिती सामान्य भएसँगै त्यसको प्रभाव पनि हराउँदै गएको छ ।
दाबी भुक्तानी पनि बढ्दै
बिमा कम्पनीहरूको बिमा शुल्कमात्रै वृद्धि भएको छैन, दाबी भुक्तानी हुने क्रम पनि बढ्दै गएको छ । कम्पनीहरूको वित्तीय विवरणअनुसार नौ महिनाको अवधिमा कम्पनीहरूको दाबी भुक्तानी ३३ प्रतिशत बढेको छ । चालू आवको चैतसम्ममा सात बिमा कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब ११ करोड रुपैयाँ थियो ।
के हो जीवन बिमा ?
हाम्रो जीवनमा कम उमेरमा नै मृत्यु हुनु, लामो समयसम्म जिउनु र लामो समयसम्म बिरामी पर्नु जस्ता कुराहरू हुन सक्छन् । यी तीन कुराहरू कहिल्यै पनि हाम्रो नियन्त्रणमा रहँदैन र यसको लागि जीवनमा केही व्यवस्था गर्नु आवश्यक पर्दछ । जीवनमा अप्रत्यासित अवस्था आई घरको मुख्य आय आर्जकको अल्पायुमा नै मृत्यु अथवा अशक्त भई आय बन्द हुँदाको अवस्थामा बाँकी रहेका परिवारको जीवनमा आर्थिक सङ्कट नआओस भनी आफ्नो मृत्यु पश्चातको जोखीम बिमा कम्पनीलाई सार्नु नै जीवन बिमा गर्नु हो । जीवन बिमाले अर्को जीवनको प्रतिस्थापन गर्न नसकेता पनि मुख्य आय–आर्जनको शून्यतामा केही वर्षको लागि आय प्रदान गर्दछ जसले गर्दा बाँकी रहेका परिवारका सदस्यहरूले आफ्नो जीवन शैली र शिक्षाको निरन्तरता कायम राख्न सक्छन् । जीवन बिमा पोलिसी बिमित र बिमा कम्पनी बिचको सम्झौता पत्र हो जसमा बिमितले केही रकम प्रिमियमको रूपमा कम्पनीलाई मासिक वा वार्षिक रूपमा तिर्ने र बिमितको पोलिसी अवधिमा मृत्यु भएको खण्डमा विमितको परिवारलाई बिमा कम्पनीले ठुलो रकम उपलब्ध गराउन मन्जूर गरिएको हुन्छ । जीवन बिमाअन्र्तगत नै घटना घटे पाइने र घटना नघटे नपाइने खालको अर्काे बिमा पनि हुन्छ । त्यसलाई हामी म्यादी बिमा भन्छौँ । यसअन्र्तगत रोजगारी बिमा पर्छ । यस्तो खालको बिमा घटना भयो भने मात्र पाइन्छ । घटना घटे पनि पाइने र घटना नघटे पनि पाइने दुवै खालका बिमा पनि छन् । बिमा अवधिभित्र बिमितको कुनै कारणवश मृत्यु भएको अवस्थामा बिमाको रकम प्लस बोनस पाइने, वा बिमा अवधिभर जिवितै रहे उसले गरेको बिमा रकमको आधारमा बिमा प्राप्त गर्न सकिने हुन्छ ।