September 21st, 2018

युनियन लाइफ इन्स्योरेन्सले पूरा गर्यो स्थापनाको पहिलो वर्ष

बैंकिङ खबर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमनकारी निकाय बीमा समितिबाट स्वीकृती प्राप्त गरी कारोवार संचालन गरेको असोज ४ गते एक बर्ष पुरा भएको छ । स्थापनाको एक बर्षको अवधिमा प्राप्त गरेको सफलताले अत्यन्तै उत्साहित बनाएको भन्दै कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ ।

गत आ.व. २०७४।७५ मा कम्पनीले ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो  भने आ.व. २०७५।७६ को श्रावण र भाद्र महिनामा करिब २२ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । हालसम्म कम्पनीले जारी गरेको बीमालेख संख्या करिब ८२ हजार भन्दा बढि रहेको छ । कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख मुनाफा गर्न सफल भएको छ । आ.व. २०७४।७५ मा कम्पनीको जीवन बीमा कोष रु.३७.३० करोड रहेको छ । कम्पनीको समग्र आर्थिक परिसूचांकलाई मध्यनजर गर्दा कम्पनीको वित्तीय अवस्था मजबुत रहेको छ ।

नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढि शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका छन् थप कार्यालयहरु क्रमिक रुपमा संचालनमा आउने क्रममा छन् । उक्त कार्यालयहरुबाट बीमा सम्बन्धी सेवा सुविधा सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ ।

कम्पनीले बीमा ब्यावसाय प्रबद्र्धनसँगसँगै कम्पनीको आन्तरिक सुशासनका कामहरुलाई नियमित र ब्यवस्थित गरिरहेको छ । बीमा ऐन, नियम तथा नियामक निकाय बीमा समितिबाट जारी निर्देशन, परिपत्रहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आएको र कम्पनीका काम कारवाहीहरुलाई विभागिय तवरले काम गर्ने ब्यवस्था मिलाईएकाले कम्पनीको आन्तरिक संरचना समेत ब्यवस्थित रहेको कम्पनीको दाबी छ ।
 
कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४।०१।२४ गते दर्ता भएको यस कम्पनीले बीमा समितिबाट मिति २०७४।०३।२० मा इजाजत प्रमाणपत्र प्राप्त गरेको थियो भने मिति २०७४।०६।०४ गते बीमा समितिबाट कारोवार संचालनको अनुमती प्राप्त गरेको हो ।   

२ अर्ब १५ करोड जारी पूंजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाहरु रहेका छन् । जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् । 

कम्पनीको संचालक समितिमा अध्यक्ष श्री शुलभ अग्रवाल र संचालकहरुमा श्री शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहनु भएको छ भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहनु भएको छ । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

कम्पनीले जीवन बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिनका लागि बीमा बजारको माग र आवश्यकता अनुसार नविनतम् बीमा योजनाहरु ल्याउने र कम्पनीलाई जीवन बीमा क्षेत्रको भरोसा योग्य कम्पनी बनाउने लक्ष्य लिएको छ ।