September 20th, 2018

चितवनमा ‘बैंकिङ/बीमा एक्स्पो’ सुरु

बैंकिङ खबर । चितवनमा बैंकिङ/बीमा एक्स्पो सुरु भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक जनक अधिकारीले विहीबार(असोज ४ गते) उक्त एक्स्पोको उद्घाटन गरे ।

कार्यक्रमको उद्घाटन गर्दै अधिकारीले बैंक तथा वित्तीय संस्था एवम् बीमा सम्बन्धी जानकारी दिने यस्तो कार्यक्रम काठमाडौँ उपत्यकाबाहिर आयोजना गरिनु एकदमै सराहनीय रहेको बताए । बैंकिङ बिना अर्थतन्त्र सबल हुन नसक्ने भएकाले बैंक, वित्तीय कारोबार, बीमा लगायतका विषयमा सबैले बुझ्नुपर्ने उनले बताए ।

माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनका महासचिव बसन्त लम्सालले नेपालमा ससाना पुँजी भएका नागरिकको संख्या धेरै भएकाले लघुउद्यमशीलताको हिसाबले अगाडी बढ्नुपर्ने धारणा राखे । साथै, उद्यमशीलताको प्रवर्धन गर्ने बैंकिङ/बीमा एक्स्पो जस्ता कार्यक्रम अझ ग्रामीण एवम् दुर्गम भेगमा लैजान उनले आयोजकलाई सुझाव समेत दिए । 

त्यस्तै, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बैंकिङ क्षेत्र र राष्ट्रिय अर्थतन्त्रका बारेमा जानकारी दिने यस्ता कार्यक्रम बेलाबेलामा आयोजना भइरहनुपर्ने बताए । पहिले बैंकिङ बुझेपछि मात्रै अर्थतन्त्रको बारेमा बुझ्न सकिने उनको तर्क थियो । 

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी, चितवनका अध्यक्ष भरत मल्लले बीमाको महत्व र आवश्यकताका विषयमा प्रकाश परे । 

त्यसैगरी, कार्यक्रमको बैंकिङ पार्टनर गरिमा विकास बैंकका क्षेत्रीय निर्देशक पुरुषोत्तम पाण्डेले काठमाडौँबाहिर आयोजना गरिएको यस्तो जानकारीमूलक र उपयोगी कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्ति गरे । बैंकिङबिना अर्थतन्त्रको विकास हुन नसक्ने समेत उनले बताए ।

कार्यक्रमका संयोजक माधव निर्दोषले उद्यमशीलता विकास गर्ने एवम् वित्तीय चेतना बढाउने उद्देश्य बोकेको बैंकिङ/बीमा एक्स्पो कार्यक्रम निरन्तर रुपमा देशभर संचालन गरिने जानकारी दिए ।

मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र बीमा समितिको सहकार्य एवं उद्योग वाणिज्य संघ चितवनको साझेदारीमा उक्त एक्स्पो संचालन भएको हो । २०७३ साल कात्तिक २६ गते  लुम्बिनीको रुद्रपुरबाट सुरु भएको ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ अन्तरगत उक्त कार्यक्रम संचालन गरिएको हो । उक्त अभियान अन्तर्गत काठमाडौँ उपत्यकाभित्र र बाहिर थुप्रै कार्यक्रम संचालन भएका छन् । उत्यकाबाहिर बैंकिङ/बीमा एक्स्पोको आयोजना गरिएको यो तेस्रो पटक हो । यसअघि, प्रदेश नं. १को इटहरी र प्रदेश नं. ४ को पोखरामा बैंकिङ/बीमा एक्स्पो सफलतापूर्वक सम्पन्न भइसकेका छन् । 

यसपटक चितवनको उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजित बैंकिङ÷बीमा एक्स्पोमा विभिन्न बैंक, वित्तीय संस्थाहरु, बीमा कम्पनी लगायतले सूचनामूलक स्टलहरु राखेका छन् । नेपालमै उद्यमशीलता गर्न चाहाने तथा उद्यमशीलता गरिरहेकाहरुलाई बैंकिङ कर्जाका बारे जानकारी लिन एक्स्पो महत्वपूर्ण हुने बताइएको छ । त्यसैगरी उक्त एक्स्पो म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि बैंक र बीमा बुझ्ने उपयूक्त गन्तव्य हुने छ । 

एक्स्पोमा सहभागिहरुले निशुल्क रुपमा उक्त कार्यक्रममा भाग लिन सक्नेछन् । अन्तरक्रिया कार्यक्रममा बैंकर्स, बीमा विज्ञ, केन्द्रीय बैंकका प्रतिनिधि, मर्चेन्ट बैंकर्स संघका अध्यक्ष, बीमा समितिका अध्यक्ष लगायतले सम्बन्धित विषयमा प्रस्तुति गर्नेछन् ।

एक्स्पोको पहिलो दिन  बैंकिङ कर्जा, बैंकिङ लगानी र उद्यमशीलता, बैंकिङ टेक्नोलोजी, लघु उद्यमशीलता लगायतका विषयमा अन्तक्र्रिया गरिएको थियो । कार्यक्रमको समुद्घाटन अघि नारायणगढको पुलचोकबाट वित्तीय जागरणसम्बन्धी र्याली सम्पन्न गरिएको थियो । 

कार्यक्रम शुक्रबार (असोज ५ गते)सम्म संचालन हुनेछ । शुक्रबार बीमा र सेयर बजार विशेष गोष्ठी एवम् अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।