धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्थाको एशोसिएट सदस्य भएपश्चात बोर्डले सन् २०१६ देखि उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ । विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह मार्फत् पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको शसक्तिकरण गर्ने रहेको बोर्डको भनाई छ । देश हालै संघीय स्वरुपमा रहेको तथा धितोपत्र बजारसमेत क्रमशः देशव्यापी हुँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई आमसर्वसाधारणलाई बजार प्रवेशमा प्रोत्साहित गरी धितोपत्रको मागको व्यवस्थापनका लागि बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको बताएको छ ।
यस्ता छन् कार्यक्रमहरु
बोर्डले यस अवधिमा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी (र्याली) । पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र लगानीकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
त्यस्तै नियमन निकाय, नेपाल स्टक एक्सचेञ्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ्गका उच्च पदस्त कर्मचारी र धितोपत्र व्यवसायी, प्रबुद्ध लगानीकर्ता तथा पूँजी बजार विज्ञलाई सम्लग्न गराई टेलिभिजनमार्फत अर्न्तवार्तारअन्तरक्रिया कार्यक्रम प्रसारण गर्ने कार्यक्रम पनि बोर्डले तय गरेको छ ।
यसैगरी बोर्डले प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शंनी सञ्चालन गर्ने तथा एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने भएको छ ।
यी कार्यक्रमहरुले लगानीकर्ताहरुको सशक्तिकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास कार्य थप सहज हुने तथा देशमा पूँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डको छ ।