बैंकिङ खबर । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टिफिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टिफिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु जरुरी हुन्छ । बैंकिङ क्षेत्रबारे राम्रोसँग बुझेको व्यक्तिलाई बैंकले जागीर नदिने भन्ने हुँदैन । नेपाल राष्ट्र बैंक लगायतमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले परीक्षा लिने गर्दछ । यसका लागि वित्तीय क्षेत्रका बारेमा राम्रो नलेज हुनु आवश्यक छ । यसै आवश्यकतालाई ध्यानमा राखेर बैंकिङ खबर डट कमले लोकसेवा आयोगले सोध्ने सम्भावित बैंकिङ प्रश्नहरु तयार गरेको छ :
चेक
चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो ।
एटीएम
अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्रा्ष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।
ई बैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।
डेबिट कार्ड
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।
क्रेडिट कार्ड
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।
मोबाइल बैंकिङ
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ ।
मोबाइल वालेट
मोबाइल वालेट भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसित र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ ।
केवाईसी
कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ । बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।
ब्रान्चलेस बैंकिङ
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।
अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।
वासलात (व्यालेन्स सिट)
कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।
सञ्चालकहरु र सञ्चालक समिति
कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रवन्ध, अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरु नै कम्पनीको सञ्चालक हुन । कम्पनीका सञ्चालकहरुको नियुक्ति प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापकहरुद्वारा र तत्पश्चात साधारण सभाद्वारा हुने गर्दछ । कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको सेयर लिएको हुनु पर्दछ ।
वार्षिक साधारणसभा
कम्पनीले वर्ष भरीमा गरेको काम कारवाही, उपलब्धी, समस्या तथा भावी योजनाहरुको सम्बन्धमा सेयरवालाहरुलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र अन्य महत्वपूर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने सेयरधनीहरुको सभालाई वार्षिक साधारण सभा भनिन्छ । नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने ब्यवस्था रहेको छ ।
व्याजदर करिडोर
सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ ।निक्षेपकर्ताले सँधै बढी व्याज खोज्छन् भने ऋणीले स्वभावैले न्यून व्याज खोज्छन् । त्यसैले व्याजदर बढ्दा निक्षेपकर्ताहरु उत्साहित हुन्छन् भने ऋणीहरु निरुत्साहित हुन्छन् । त्यसैले दुवैलाई सन्तुलित गर्नेगरी राष्ट्र बैंकले नीति अबलम्बन गर्नुपर्छ । केही वर्षयता व्याजदर न्यून हुँदा निक्षेपकर्ताहरु निरुत्साहित भएका छन् । यस्तो अवस्थामा संसारभरका केन्द्रिय बैंकहरुले करिडोरमार्फत व्याजदर स्थिर राख्ने गर्दछ । व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुन्छ । त्यसैले, करिडोर लागू भएपछि, निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुग्छ ।
व्याज मुल्तबी
राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार कर्जा लगानीमा प्राप्त हुनुपर्ने ब्याज नगदमा प्राप्त भएमा मात्र आम्दानी जनाउन पाउँछन् । तर, बुझाउनु पर्ने निर्धा््िरत समय पुगेको ब्याज पनि नगदमा प्राप्त नभएसम्म त्यस्तो ब्याजलाई ‘ब्याज मुल्तबी’ हिसाबमा राख्नुपर्छ । त्यस्तै, उठ्नुपर्ने भाका नाघेर खराब कर्जामा परिणत भएको ऋणको ब्याज रकमलाई पनि मुल्तबी हिसाबमा राख्नुपर्ने व्यवस्था छ ।
मुद्रास्फीति
सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।
कर्जा जोखिम
कर्जा जोखिम भन्नाले कर्जा वा सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट बञ्चित गराइएको कारणबाट उत्पन्न हुने जोखिमलाई बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति वा संस्था वा कर्जा ग्राहकले लिएको कर्जा वा ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुन जाने जोखिम हो ।
खराब कर्जा
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन) अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अवस्था आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।
तरलता
कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।
सम्पत्ति शुद्धिकरण
गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । सम्पत्ति शुद्धिकरण अनुसनधान विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार ‘सम्पत्ति शुद्धिकरणको अपराध आफैँमा अपराध सम्बद्ध कसुर नभएर, मूल कसुरको सहउत्पादन हो ।’
मौद्रिक नीति
सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । मौद्रिक नीति केन्द्रिय बैँकले जारी गर्ने एक मात्र नीति हो, जसभित्र वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ ।