Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हेर्नुहोस्, साताभरका प्रमुख बैंकिङ खबरहरु (आठ बुँदामा)

२०७५ भाद्र २२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले यसअघिको निर्देशिकाका १६० वटा बुँदामा संशोधन गर्दै एकीकृत निर्देशिका २०७५ जारी गरेको छ । प्रदेश २ अन्तर्गत रहेको राष्ट्र बैंको क्षेत्री कार्यालयमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको धर्नाले पनि यो साता चर्चा पायो । समग्रमा, साताभर चर्चामा रहेका बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

एकीकृत निर्देशन जारी
नेपाल राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशिका २०७५ जारी गरेको छ । राष्ट्र बैंकले यसअघिको निर्देशिकाका १६० वटा बुँदामा संशोधन गरेको छ । कर्जाको भाखा एक महिनाभन्दा बढी नाघेमा त्यस्तो कर्जालाई खराब कर्जामा राखिने भएको छ । यसअघि भाखा नाघेको तीन महिनासम्म असुल नभएको कर्जा खराब कर्जामा गनिन्थ्यो । यस्तो ऋणको नोक्सानी व्ययवस्थापनवापत पाँच प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।  त्यस्तै, राष्ट्र बैंकले लघु, घरेलु तथा साना ब्यवसायलाई २५ लाखसम्मको चालु पूँजी प्रकृतिको कर्जा प्रवाह गर्दा अनुमानित वित्तीय विवरण अनिवार्य लिन नपर्ने ब्यवस्थालाई संशोधन गरी ५० लाख रुपैयाँ पुर्याएको छ । फाइनान्स कम्पनीहरुले पनि अबदेखि ओभरड्राफ्ट ऋण दिन पाउने भएका छन् भने हाइपोथिकेशन ऋणमा प्रतिबन्ध यथावत राखिएको छ । अबदेखि मोटरबाटो नभएको खेतीयोग्य जमिनको धितोमा ऋण दिन पाउने रकमको सीमा सत् प्रतिशतले बढाइको छ । पहिले १० लाखसम्म दिन पाइन्थ्यो भने अब २० लाखसम्म दिन पाइने भएको हो । विभिन्न प्रकारका बचत खाताहरुमा दिइने ब्याज दरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढि गर्न नपाइने ब्यवस्थालाई राष्ट्र बैंकले खारेज गरेको छ ।

राष्ट्र बैंकको कार्यालयमा धर्ना
प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसे । आइतबार मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेको हो ।

सिमेन्ट उद्योगमा सबैभन्दा ठूलो बैंकिङ लगानी
नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना– होङसी शिवम् सिमेण्ट अब सफलतापूर्वक सम्पन्न हुने क्रममा पुगेको छ । नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि बैंकको अगुवाईमा पाँच वटा बैंकले लगानी गरेका छन् । एनएमबि बैंकले छ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको प्रोजेक्टमा सह–प्रमुख बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको चार अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरुमध्ये, प्रभु बैंकको तीन अर्ब रुपैयाँ, एभरेष्ट बैंकको एक अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआई बैंकको एक अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । ७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन् ।

एनआईसी एशिया बैंकको डिबेञ्चर
एनआईसी एशिया बैंकले बिहीबारदेखि ऋणपत्र (डिवेञ्चर) जारी गरेको छ । बैंकले एक अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र जारी गरेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन गर्नेछ । निष्काशन हुने कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ बराबरको तीन लाख ६६ हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । ८० प्रतिशत अर्थात एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ६४ हजार कित्ता व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ । ’११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२।८३’ नामक सात वर्षे अवधिको ऋणपत्रको व्याजदर ११ प्रतिशत रहेको छ । व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जानकारी दिएको छ । बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई प्रदान गरेको छ । इच्छुक लगानीकर्ताले ऋणपत्रमा २५ कितादेखि निष्काशन हुने अधिकतम कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । सो ऋणपत्र छिटोमा भदौ २५ गते निष्काशन बन्द हुनेछ भने सो समयमा सबै बिक्री नभएको अवस्थामा असोज १९ गतेसम्म खुला हुने जनाइएको छ ।

शाखा तथा सेवा विस्तार
ज्योति विकास बैंक लिमिटेडले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा एटिएम सञ्चालनमा ल्याएको छ ।
मेगा बैँक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
ज्योति विकास बैंक लि. ले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
माछापूच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
कृषि विकास बैंकको रुपन्देहीस्थित भैरहवा शाखामा सरकारी कारोबार र एटीएम सेवाको सुरुवात गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले काठमाडौँ म.न.पा. वडा नं. १६, ठमेल र गोकर्णेश्वर(जोरपाटी) न.पा. वडा नं. ०५मा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व
जनता बैंक नेपाल लिमिटेडल संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीमा रहेको फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

सम्झौता
इजीलिंक रेमिट्यान्सले गरिमा विकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता गरेको छ ।
लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) ले नेपाल अधिरज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेका छन् ।
एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
ज्योति विकास बैंक लि. र कैलााश  विकास बैंक लि. बिच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बैंक लिमिटेड र  इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच रेमिट्यान्स (विप्रेषण) कारोबार सम्वन्धी परिमार्जित  सम्झौता सम्पन्न भएको छ ।
मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  

अन्य
एलआईसी अफ इण्डियाको संयुक्त लगानीमा संस्थापित जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो प्रदेश नं. २ मा रहेका कार्यालयहरु मध्ये १७ वटा कार्यालयका प्रमुखहरुलाई धितो कर्जा प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धि २ दिने तालिम प्रदान गरेको छ ।
निर्धन संस्था र डा. हरिहरदेव पन्त फाउण्डेसनको संयुक्त आयोजनामा डा.हरिहरदेव पन्त स्मृति दिवस सम्पन्न भएको छ ।

Ad