Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गरिबी न्युनीकरणमा लघुवित्त वित्तीय संस्थाहरुको भुमिका

२०७५ भाद्र २१ गते

निर्जला खड्का/बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले तोके बमोजिम घ वर्गको इजाजतपत्र लिएर काम गरेका संस्थाहरु यस सुचिमा पर्दछन् । लघुवित्त वित्तीय संस्थाहरु विषेश गरी विकट ठाउँहरुमा स्थापना भएका हुन्छन् । विशेष गरी सानो सानो बचत, सानो ऋण, सानो लघुबीमा र वित्तीय कारोबारलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलैसंग पुर्याउन सक्ने रेमिटको कारोबार गर्ने संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् ।

लघु उद्यमी साना ब्यवसायी बनाउन विभिन्न सीपमुलक तालीम, गोष्ठी, सेमिनार, वित्तीय साक्षरता तथा सामाजिक विकासको चेतना अभिवृद्धि कार्यक्रम नै लघुवित्त हो । लघुवित्त वित्तीय संस्थाहरुले लक्षित वर्गको पहिचान गरी विकट क्षेत्रमा बसोबास गर्ने विपन्न, र अति विपन्न परिवारहरुलाई वित्तीय सेवाको पहुँच पुर्याउने गर्दछन् ।

लघुवित्त सेवालाई नेपालको परिपे्रक्ष्यमा एउटा महत्वपूर्ण वित्तीय औजारको रुपमा लिन सकिन्छ । यसले विपन्न तथा सीमान्तकृत वर्गका मानिसहरूमा वित्तीय पहुँच प्रदान गरेर उनीहरूको जीवनयापनमा सुधार ल्याउनुका साथै गरिबी र बेरोजगारी समस्या समाधान गर्न सहयोग पुर्याएको छ । लघुवित्त वित्तीय संस्थाले बिनाधितो लघुकर्जा उपलब्ध गराएर उत्पादनशील क्षेत्रमा लगानी गर्न वा लघु उद्यम व्यवसाय सञ्चालन गर्न सर्वसाधरणहरुलाई उत्प्रेरित गर्दछ । परिणामस्वरूप रोजगारीका अवसर सिर्जना गरेर विपन्न तथा सीमान्तकृत वर्गका मानिसको आम्दानी–स्तरमा समेत सुधार ल्याउन सहयोग गरेको छ ।
लघुवित्तको माध्यमद्वारा न्यून आय भएका मानिसको जीवनस्तरमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, महिला सशक्तिकरणमा वृद्धि, सूचनाको पहुँच, स्वास्थ्य, शिक्षा तथा पेशागत स्तरमा वृद्धि आदिजस्ता क्रियाकलापमा लघुवित्त संस्थाहरु उपयोगी भएको कुरा विभिन्न अध्ययन र अनुसन्धानले पुष्टि गरिसकेको छ । वित्तीय सेवाको पहुँच नपुगेका मानिसका लागि लक्षित गरेर लघुवित्त संस्थाले ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै वित्तीय साक्षरता र अभियानमा जोड दिँदै आएको छ ।

लघुवित्त वित्तीय संस्थाहरु गरिबी न्युनीकरणका लागि प्रभावकारी भुमिका खेल्दै आएका छन् । नेपालमा मात्र नभएर अन्तरराष्ट्रिय रुपमा नै लघुवित्त वित्तीय संस्थाहरु गरिबी न्युनीकरणमा सफल भएका छन् ।  नेपालका सन्दर्भमा गरिबी न्युनीकरणमा (शिक्षा, आवास, उपभोग, आम्दानी र सम्पत्तिको सञ्चय)  लघुवित्तले सकारात्मक प्रभाव पारेको देखिएको छ ।

लघुवित्त संस्थाहरुले सङघिय शासन प्रणाली अनुरूप केन्द्र, प्रदेश र स्थानीय तहमा स–साना लगानीका स्रोत र साधनको उपलब्धता र सुनिश्चितालाई ध्यानमा राखी स्रोत साधनको परिचालनमा जोड दिँदै आएका छन् । जनसमुदायमा लघुवित्त सेवालाई केन्द्रीकृत गरी कृषि, पर्यटन र अन्य लघु व्यवसाय मार्फत् उच्च र दिगो आर्थिक वृद्धिदर हासिल गरी गरिबी न्युनीकरणका लागि महत्वपुर्ण भुमिका निभाउँदै आइरहेको छ ।

लघुवित्त वित्तीय संस्था अन्य वित्तीय संस्थाहरु (‘क’, ‘ख’ र ‘ग’ ) भन्दा प्रविधिमा पछाडि छन् । तर, हाल लघुवित्त वित्तीय संस्थाहरुले पनि प्रविधिको प्रयोगलाई सुधार गर्दै आएका छन् । लघुवित्त वित्तीय संस्थाहरु प्रविधिको क्षेत्रमा पछाडि भएता पनि मानीसहरुको आकर्षण भने बढ्दोे रुपमा रहेको छ । जसको कारण थोरै कर्जा, थोरै बचत र छिटो सेवा नै हो ।

नेपालजस्तो अधिकांश ग्रामीण बस्ती भएको मुलुकमा वित्तीय समावेशीकरण र गरिबी न्युनीकरणका लागि लघुवित्त कार्यक्रमलाई एउटा उपयोगी वित्तीय औजारका रूपमा लिन सकिन्छ । लघुवित्तले सामाजिक–आर्थिक रूपान्तरण कार्यमा सहयोग पुर्याएको छ । लघुवित्त वित्तीय संस्थाहरुले गरिबी न्युनीकरणमा सहयोग गरेको छ । लघुवित्त सेवाले सर्वसाधरणहरुलाई गरिबीबाट माथि उठाउन सहयोग गर्ने भएता पनि यो आफैँमा गरिबी निवारणको साधन भने होइन । गरिबीलाई केही हदसम्म कम गर्ने एउटा साधन हो । 

Ad