बैंकिङ खबर । अमेरिकी डलरको भाउ निरन्तर आकाशिरहेको छ । हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको डरको भाउले बुधबार पनि सर्वाधिक उचाईमा पुगी नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ ।
बुधबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर ११४.२४ रुपैयाँ र बिक्रीदर ११४.८४ रुपैयाँ तोकेको छ । मंगलबारका लागि प्रति डलरको खरीद दर ११३.६४ रुपैयाँ र बिक्री दर ११४.२४ रुपैयाँ तोकेको थियो । तर, मंगलबार नै कतिपय बैंकहरुले ११५ रुपैयाँसम्ममा डलरको कारोबार गरेका थिए ।
नेपाली मुद्राको भारतसँग स्थिर विनिमय दर छ । यसको अर्थ भारतीय मुद्रा डलरसँग जति अवमूल्यन हुन्छ, त्यसको उति प्रभाव नेपाली रुपैयाँमा समेत पर्छ । डलरसँग भारु तीव्र अवमूल्यन भई ७२ भारुको नजिक पुगिसकेको छ । । भारतीय विश्लेषकहरुले आगामी केही हप्ताभित्र भारतीय रुपैयाँ अझै कमजोर हुने प्रक्षेपण गरिरहेका छन् ।