बैंकिङ खबर । अमेरिकी डलरले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ आजसम्मकै सबैभन्दा कमजोर बनेको छ । अन्य थुप्रै गतिविधिहरु यो साता बैंकिङ क्षेत्रमा भएका छन् । विदाको दिन कार्यालय संचालन गरेको भन्दै प्रदेश सरकारले राष्ट्र बैंकमा ताला लगाएको विषय अत्याधिक चर्चामा रह्यो । समग्रमा, साताभरका बैंकिङ गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
प्रदेश सरकारद्धारा राष्ट्र बैंकमा ताला
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाएका छन् । प्रदेश सरकारले दिएको विदाको अवज्ञा गरी कार्यालय संचालन गरेको भन्दै उनले राष्ट्र बैंकको जनकपूरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रदेश नं. २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरी आइतबार रक्षाबन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयहरु नियमित रुपमा नै संचालन भइरहेका छन् । निजी बैंक तथा वित्तीय संस्था एवम् जिल्ला प्रशासन कार्यालय अन्तर्गतका सबै निकाय खुलेका छन् । यसरी प्रदेश सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा कानून मन्त्री एक टोलीसहित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।
नेपाली रुपैयाँ इतिहासमै कमजोर
नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको विक्री मूल्य एक सय १३ रुपैयाँ ४९ पैसा तोकेको छ भने खरिदमूल्य एक सय १२ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । बिहिबार राष्ट्र बैंकले विक्रीमूल्य प्रति अमेरिकी डलरको बिक्री मूल्य एक सय १३ रुपैयाँ २५ पैसा निर्धारण गरेको थियो । बिहीबारको तुलनामा प्रतिडलर मूल्य २४ पैसाले बढेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर बढोत्तरी भएका कारण अमेरिकी डलरको भाउ आकाशिएको हो ।
नेपालीद्धारा स्थापित बैंक अमेरिकामा
अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले अनुमति त्यहाँको सरकारबाट अनुमति पाएको छ । ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो । बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य राखेको छ । अनुमति पाएसंगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ । संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख न्युयोर्कको ज्याक्सन हाइटमा समुदायलक्षित एक भब्य उद्घाटन समारोह आयोजना गरिनेछ । उद्घाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरु, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ ।
ज्योति र हाम्रोको एक्विजिसन
राष्ट्रियस्तरको ज्योति विकास बैंकले नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेको छ । ज्योति विकास बैंकले असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गर्ने सहमति भएको छ ।
जनता बैंकको मेरो तलब खाता
जनता बैंक नेपाल लिमिटेडले मेरो तलव खाता संचालनमा ल्याएको छ । वार्षिक सात प्रतिशत व्याजदर भएको यो खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ भने दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी हुने बैंकले जनाएको छ । यो खाता खोल्ने ग्राहकका लागि निःशूल्क भिसा डेबिट कार्ड दुई वर्षका लागि, निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा सात लाखसम्म, निःशुल्क एबिबिएस सुविधा दुई लाख रुपैयाँसम्म, निःशुल्क चेकका साथमा स्टेटमेन्ट(अन डिमाण्ड तथा आस्वा सेवाको समेत सुविधा रहेको छ । संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी÷श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ बरदान मुद्दति योजना
मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक वर्ष अवधिमा न्युनतम पाँच लाख रुपैयाँदेखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजनाअन्तर्गत राख्ने निक्षेपमा बार्षिक११.५० प्रतिशत व्याजदर प्रदान गर्ने छ । यो योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखाबाट उपलब्ध हुने छ ।
शाखा तथा सेवा विस्तार
सुनसरीको इटहरी, सिराहाको लाहान, र चितवनको भोजार्डका गण्डकी विकास बैंकले शाखा विस्तार गर्यो ।
एनआईसी एशिया बैंकले कास्कीको न्युरोड र नौडाँडामा एवम् तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा शाखा विस्तार गर्यो ।
राष्ट्रिय वाणिज्य बैंकले संखुवासभाको चैनपूरमा एटीएम विस्तार गर्यो ।
कैलाश विकास बैंक लिमिटेडले काठमाडौंको ठमेलमा ६३ औँ शाखा विस्तार गर्यो ।
सिर्जना फाइनान्स लिमिटेडले आफ्नो २१ औं शाखा सप्तरी जिल्लाको बोदेबर्साइन न.पा.वडा नं ५ मा स्थापना गर्यो ।
गण्डकी विकास बैंकले दाङको तुलसीपूरमा शाखा विस्तार गर्यो ।
एनआईसी एशिया बैंकले रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित भुजौलीमा शाखारहित बैंकिङ सेवा सुरु गर्यो ।
सम्झौता
नेपाल बैंकिङ इन्स्टिच्युटले तालिम संचालनका गर्जका लागि यसै साता जनता बैंक, लक्ष्मी बैंक र प्रभु बैंकसँग सम्झौता गर्यो ।
प्रभु बैंक र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौता भयो ।
माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिज सर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)सँग सम्झौता गर्यो ।
प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भयो ।
संस्थागत सामाजिक उत्तरदायित्व
गण्डकी विकास बैंक लिमिटेड वीरगंज शाखाले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मानव सेवा आश्रम वीरगंजमा आश्रित व्यक्तिहरुलाई भोजन सेवा प्रदान गर्यो ।
अन्य
सांग्रिला डेभलपमेन्ट बैंकले नया नियुक्त भएका कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम दियो ।