नेपालमा बैंकिङ पहुँच ५० प्रतिशत जनतामा पुगिसक्दा बीमा पहुँच जम्मा १० प्रतिशत जनतामा मात्र सिमित रहेको छ । बीमा समितिले शाखा विस्तारको साथै पुँजी बृद्धिलाई समेत प्राथमिकतामा राखेर आफ्नो योजनाहरु बनाउँदै आएको छ । बीमा कम्पनीहरुलाई अन्तरराष्ट्रिय बजारमा समेत प्रतिष्पर्धात्मक बनाउने बीमा समितिको लक्ष्य रहेको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ बताउँछन् । यसैबीच, बीमाको आवश्यकता, महत्व, वर्तमान अवस्था र बीमा समितिका आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर उनै चापागाईँसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
बीमा भनेको के हो ?
समान प्रकृतिको अनिश्चित जोखिमले ग्रस्त भएका व्यक्ति वा समुदायले आफ्नो जोखिम अनुरुप बीमा शुल्क बुझाई करारको माध्यमबाट घटना भएका क्षतिपुर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावनाहरु हुन्छन् । बीमा अनिश्चित जोखिम हस्तारन्तरण गरी क्षतिपुर्ति प्राप्त गर्ने माध्यम हो । मानिसको जीवन र उसको भौतिक सम्पतिमा हुने जोखिमलाई आफुबाट अलग गर्ने वा स्तान्तरण गर्ने माध्यम बीमा हो । बीमा कम्पनिहरुले बिमित व्यक्ति वा क्षतिग्रस्त व्यक्तिलाई क्षतिपुर्ति दिने गर्दछ ।
बीमाको महत्व र आवश्यकताका बारेमा प्रष्ट पारिदिनुहोस् न ।
मानिसहरु कति बेला जोखिममा पर्न सक्छन् भन्ने कुराको किटान गर्न सकिँदैन । त्यसकारण भविष्यमा मानिस र उसको भौतिक सम्पत्तिमा हुने क्षतिबाट बच्नको लागि बीमा अपरिहार्य छ । मानौँ, कुनै व्यक्तिको सय रुपैयाँ आम्दानी हुन्छ । जसमा ८० रुपैयाँ खर्च गरेर उसले २० रुपैयाँ बैंकमा बचत गर्छ । बीमाले सबै पैसा बैंकमा बचत गर्ने हैन बीमा पनि गर्नुपर्छ भन्ने धारणा बोकेको हुन्छ । बचतलाई छुटाएको २० रुपैयाँमा १० रुपैयाँ बीमा गरियो भने भविष्यमा हुने क्षतिबाट बच्न सकिन्छ । बीमाबाट बीमा समयअवधिभित्र जोखिम बहन हुनुका साथै समयअवधि सकिसकेपछि जति रकम बीमा गरेको हो त्यही अनुसार बोनस समेत प्राप्त हुन्छ । प्राप्त प्रतिफललाई कतै लगानी गर्न सकिन्छ ।
बीमा पहुँच विस्तारका लागि बीमा समितिका योजनाहरु केके छन् ?
वास्तवमै नेपालमा बीमा पहुँच र बीमा साक्षरता कम छ । बीमा र बैंकिङ क्षत्रलाई तुलना गर्ने हो भने बैंकिङ पहुँच ५० प्रतिशत जनतामा पुग्दा बीमा पहुँच १० प्रतिशत जनतामा मात्र पुग्न सफल भएको छ । विगतका बर्षहरुमा झन् बीमा पहुँच अत्यन्त थोरै ७ प्रतिशतको हाराहारीमा मात्र सिमित थियो । अहिले विस्तारै बीमा साक्षरता र पहुँच बृद्धि हुँदै आएको छ । बीमा समितिले सबै मानिसहरुमा बीमा सम्बन्धी चेतना फैलाउन विगतको वर्षहरुदेखि धेरै ठुलो मिहिनेत गर्दै आफ्नो कामलाई निरन्तरता दिँदै आएको छ । नेपालमा बीमा साक्षरता र बीमा पहुँच बृद्धिका लागि बीमा समितिका योजनाहरु यसप्रकार छन् :
अभिकर्ताहरुलाई तालिमको व्यवस्था : बीमा कम्पनीहरुको पोलिसी विक्री बढि मात्रामा गर्नेे भनेका अभिकर्ताहरु नै हुन् । तर, अभिकर्ताहरुमा बीमा सम्बन्धी ज्ञानको कमी छ । अभिकर्ताहरुमा क्षमता बृद्धिकालागि बीमा समितिले लालिम केन्द्रको स्थापना गरेको छ । अबका दिनहरुमा बीमा अभिकर्ताहरुलाई तालिम दिएर मात्र गाउँ गाउँमा पोलिसी विक्रीका लागि पठाउने योजना बनाएका छौँ ।
प्रचारप्रसारमा जोड : बीमा सम्बन्धी प्रचारप्रसारमा कमी भएर बीमा पहुँच कम भएको हो । पहिला पहिला घरमै पैसा राखिन्थ्यो, बैंक भन्ने शब्द नै थिएन । पछि पैसा चोरी हुन लागेपछि बैंकमा राख्नुपर्छ भन्ने जनचेतना फैलिएको हो । बैंकको बारेमा चेतना विश्वभर फैलिएता पनि नेपालमा जम्मा ५० प्रतिशत मानिसहरुमा मात्र सिमित छ । झन् बीमाको बारेमा थाहा हुने मानिसहरु त बैंकको तुलनामा अत्यन्त कम छन् । बीमा गरेर के हुन्छ र ? क्षतिपुर्ति दिने निकाय पनि छ र ? के पैसा दिन्थ्यो ? भन्ने यस्ता कमजोर धारणा समाजमा छन् । त्यसैले, अबका दिनहरुमा प्रचारप्रसारलाई महत्व दिँदै गाउँ गाउँमा विधि कार्यक्रमहरु संचालन गर्ने योजना बनाएका छौँ ।
बीमाको पहुँच विस्तारका लागि बीमा समितिका योजनाहरु केके छन् ?
स्थानीय तहसम्म बीमालाई समेट्नका लागि बीमा समितिले विभिन्न योजनाहरु बनाउँदै आएको छ । तत्कालै बीमा समितिले नयाँ ऐनको विधेयक अघि सारेको छ । त्यो विधेयकमा माइक्रोइन्स्योरेन्सको धारणालाई समेटिएको छ । प्रादेशिक संरचनामा बीमालाई कसरी लैजाने भन्ने विषयमा छलफल भइरहेको छ । बीमा कम्पनीहरुलाई आगामी दिनहरुमा ७५३ वटै स्थानीय तहसम्म शाखा विस्तार गर्नुपर्छ भन्ने हिसाबले अगाडी बढिरहेका छौँ । चालु आर्थिक वर्षमा सबै स्थानीय तह अर्थात दुर्गम भेगमासम्म बीमाका शाखा विस्तार गर्ने बीमा समितिको मुख्य योजना हो । त्यस्तै, आगामी दिनमा बीमा क्षेत्रको संस्थागत शुसासन कायम गर्ने बीमा समितिको सुपरिवेक्षण र निरक्षणलाई निरन्तरताको साथ अगाडी लैजाने बीमा समितिको योजना रहेको छ ।
अन्तराष्ट्रिय क्षेत्रमा भएका बीमा कम्पनिका मुलभुत सिद्धान्तहरुलाई आत्मसात गर्दै नेपाली बीमा बजारमा लागु गरी बीमा क्षेत्रलाई प्रतिष्पर्धात्मक बनाउने योजना रहेको छ ।
हालै संचालनमा आएको बीमा तालीम केन्द्रको बारेमा बताईदिनुहोस् न ।
नेपालको बीमा क्षेत्रमा देखिएको विविध समस्याहरुमध्ये सबैभन्दा ठुलो समस्या भनेको दक्ष जनशक्तिको अभाव हो । त्यसकारण बीमा क्षेत्रका कर्मचारीहरुमा बीमा सम्बन्धी क्षमता बढाउनका लागि तालीम केन्द्रको स्थापना गरिएको हो । बैंकिङ क्षेत्रमा हेर्ने हो भने हरेक बैंकहरुले आफ्नो कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि र आफ्नो सरोकारवाला पक्षहरुको लागि बजेट छुट्टाई बैंकिङ ट्रेनिङ इन्स्टिच्युट नै संचालन गरिरहेका छन् । बीमा क्षेत्रमा यसको सुरुवात भएको थिएन । आवश्यकताको महशूस भने विगतदेखि नै गरिएको थियो । यसै आवश्यकताको परिपूर्तिका लागि बीमा तालीम केन्द्र संचालनमा ल्याइएको छ । बीमा क्षेत्रका सरोकारवाला पक्ष, बीमा समितिका कर्मचारीहरु र अभिकर्ताहरुको क्षमता बढाउनका लागि तालीम केन्द्रको स्थापना गरिएको हो । यो तालीम केन्द्र पनि प्राइभेट सेक्टरबाट नभई बीमा समितिबाट लाईसेन्स प्राप्त गरेका ३९ वटा बीमा कम्पनीहरु र बीमा समितिको संयुक्त सहकार्यमा स्थापना गरिएको हो । यस तालीम केन्द्रले आफ्नो काम सुरु गरिसकेको छ । आगामी दिनहरुमा बीमा क्षेत्रका कर्मचारीहरु र अभिकर्ताहरुमा क्षमता अभिबृद्धि गराई सबै जनताहरुमा बीमा साक्षरता र बीमा पहुँच बृद्धि गर्ने अपेक्षाका साथ उक्त तालीम केन्द्रको स्थापना गरिएको हो । साथै त्रिभुवन विश्वविद्यालयबाट भर्खर स्नातक तथा स्नातकोत्तर तह सकेर बीमा क्षेत्रमा जाने सोचमा भएका मानिसहरुलाई पनि लक्षित गरेर १५ दिनसम्मको तालीमको व्यवस्था गरिएको छ ।
बीमा कम्पनीहरुको संख्या किन थप गरिएको हो ?
बीमा कम्पनीका शाखाहरु अत्यन्त कम छन् । चालु आर्थिक वर्षमा भने सबै बीमा कम्पनिहरुले शाखा विस्तार कार्यलाई प्रथामिकता दिन्छन् भन्ने आशा बीमा समितिले राखेको छ । धेरै कम्पनीहरु बढाएपछि बजारमा प्रतिष्पर्धाको वातावरण सिर्जना हुन्छ भन्ने अपेक्षासहित नयाँ लाइसेन्स दिइएको हो । बीमा समितीमा लाइसेन्सहरुको थुप्रो थियो । लाईसेन्सहरु मात्र ल्याएर भएन भनेर बीमा समितिले विगतमा भएका लाइसेन्सहरुलाई एकपटक मौका दिनुपर्छ भन्ने सोचले पुराना लाइसेन्सहरुलाई शाखाको लागि स्वीकृती दियो । त्यसपछि धमाधम बीमा कम्पनीहरुको शाखा विस्तार हँुदै आयो । शाखा विस्तारको साथै पुँजी पनि बढाइयो । बढि शाखा विस्तार भएपछि प्रतिष्पर्धात्मक वातावरण आफै सिर्जना भयो । जसले गर्दा प्रत्यक्ष रुपमा बीमा कम्पनीहरुमा मानिसहरुले रोजगारी प्राप्त गरे । साथै, अप्रत्यक्ष रुपमा गाउँ गाउँमा लाखौँको संख्यामा बीमा अभिकर्ताहरुले रोजगारी पाए । फलस्वरुप, गाउँ गाउँबाट बीमा प्रिमियम संकलन गरेर बीमा कम्पनीहरुले संस्थागत डिपोजिट परिचालन गर्ने महत्वपुर्ण भुमिका खेल्दै आएका छन् भने बीमा क्षेत्रमा २१ अर्ब रुपैया संस्थागत पुँजी प्राप्त भएको छ ।
अघिल्लो बर्ष बीमा क्षेत्रले ढाकेको जनसंख्या ७ प्रतिशत थियो भने एक बर्षमा ११ प्रतिशत मानिसहरुले बीमा प्रति चासो राखेको पाइन्छ । जीवन बीमा क्षेत्रतर्फ र निर्जीवन बीमा क्षेत्रतर्फ नै बीमाको दायरा फराकिलो बन्दै आएको छ । यो सकरात्मक पक्ष हो । बीमा कम्पनिहरु सक्रिय रुपमा अगाडी बढन सके भने अहिले भएको सुधारलाई नै निरन्तरता दिन सकिन्थ्यो ।
नेपालको बीमा क्षेत्रमा देखिएका चुनौतीहरु के के छन् ?
विगतका वर्षहरुमा भन्दा अहिलेको समयमा बीमा क्षेत्रमा धेरै सुधार हुँदै आएको छ । अझै पनि नेपालको बीमा क्षेत्रका चुनौतीहरुलाई निरुपन गर्ने कठिन भइरहेको छ । जनताहरुमा बीमा सम्बन्धी ज्ञान नहुनु नै बीमा क्षेत्रको मुख्य चुनौती हो । बीमा कम्पनीहरुले भविष्यमा हुने जोखिलाई टेवा पुर्याउछ र क्षतिपुर्ति बहन गर्छ भन्ने कुरामा मानिसहरुलाई विश्वास छैन । बीमा अभिकर्तामा समेत बीमा सम्बन्धी ज्ञान नहुँदा झन् समस्या भएको छ । बीमा अभिकर्ताले नै मानिसहरुलाई बीमाको विषयमा बुझाउन सकिरहेका छैनन् ।
भौगलिक विकटता पनि बीमा क्षेत्रमा देखिएको चुनौतिमध्ये एक हो । गाउँमा बाटो, यातायात तथा विभिन्न सुविधाहरुको अभावका कारण बीमाका शाखाहरु सहरी क्षेत्रमा मात्र सिमित भएकोे छ । दुर्गम भेगमा बीमा कम्पनिका शाखाहरु विस्तार हुन सकेको छैन ।
त्यस्तै, बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, जसको असर बीमा शिक्षा र पहुँच विस्तारमा देखिएको छ । विगतमा कर्मचारीहरुको छनोटमा बीमा कम्पनीको नियमक निकाय नै अशक्त थियो । तर, पछिल्लो समयमा बीमा कम्पनीको नियमक निकाय सक्षम बन्दै आएको छ । नयाँ कर्मचारीहरु राख्दा पनि लोकसेवाको स्वीकृती लिएर मात्र कर्मचारी राख्ने गरेको छ । बीमा सम्बन्धी प्रचारप्रसारमा पनि कमी भइरहेको छ ।



