बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो शाखा सञ्जाल नेपालका अधिकांश जिल्लामा फैलाएको छ । सर्वसाधरणहरुमा वित्तीय पहुँच अभिबृद्धि गर्ने सरकारको नीतिमा सहयोग पुर्याउँदै बैंकले पहाडी क्षेत्रका अति दुर्गम भेगदेखि सहरी क्षेत्रका सुगम ठाउँहरुसम्म शाखा विस्तार गर्दै आएको छ । हाल मेगा बैंकका कुल १०१ वटा शाखा संचालनमा छन् । यसबाहेक, बैंकले ७४ वटा एटिएम, १४ एक्सटेन्सन काउन्टर र ११९ वटा शाखारहित बैंकिङ मार्फत आफ्ना ग्राहकलाई सेवा दिईरहेको छ । बैंकको क्षेत्रीय कार्यालय बुटवलमा मात्रै रहेको छ ।
४९ जिल्लामा शाखा
नेपालका कुल ७७ जिल्लामध्ये मेगा बैंकले ४९ जिल्लामा सेवा प्रदान गरिरहेको छ । बाँकी २८ जिल्लामा बैंकले विस्तारै आफ्नो पहुँच विस्तार गर्दै लैजाने योजना बनाएको छ ।
कुन प्रदेशमा कति शाखा
मेगा बैंकका कुल १०१ शाखामध्ये, काठमाडौं उपत्यकाभित्र १९ र ८२ शाखा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा रहेका छन् । बैंकका सबैभन्दा धेरै शाखा प्रदेश नं.३ मा रहेका छन् । यहाँ बैंकका कुल ४० शाखा सञ्चालनमा रहेका छन् । त्यस्तै, प्रदेब नं. ६ मा सबैभन्दा कम चार शाखा मात्रै सञ्चालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं. १ मा १३ वटा, प्रदेश नंं. २ मा ८ शाखा, प्रदेश नं. ४ मा ११ वटा, प्रदेश नं. ५ मा १८ वटा र प्रदेश नं. ७ मा ७ वटा शाखा सञ्चालनमा रहेका छन् । मेघा बैंकको सबैभन्दा बढी कारोबार गर्ने शाखा काठमाडौँस्थित कमलादी शाखा (मुख्य शाखा) बाट हुने गरेको छ ।
एक वर्षमा २५ नयाँ शाखा
मेगा बैंकले गत आर्थिक वर्षमा मात्रै २५ वटा नयाँ शाखा विस्तार गरेको छ । यसबाहेक, गत आर्थिक वर्षभित्रै बैंकले १४ वटा एटिएम, ५८ वटा शाखारहित बैंकिङ केन्द्रहरु थप गरेको छ ।
१० शाखा थपिँदै
चालु आर्थिक वर्ष २०७५/७६ मा मेगा बैंकले १० वटा शाखा थप गर्ने योजना बनाएको छ । बैंकले शाखा खोल्नका लागि भने प्रदेश र स्थानहरुको तय गर्न बाँकी रहेको छ ।