बैंकिङ खबर । तरलतामा उतार–चढावको स्थिति रहेतापनि गत आर्थिक वर्षमा कर्जा प्रवाह र निक्षेप संकलन बढेको छ । एक वर्षमा कर्जा प्रवाह २२.५ प्रतिशत र निक्षेप संकलन १९.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको तुलनामा अझैपनि कर्जा प्रवाहको वृद्धिदर बढी भएकाले वित्तीय अवस्था अझै कसिलो रहेको राष्ट्र बैंकको तर्क छ ।
राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले २७ खर्ब ४२ अर्ब १० करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२.३ प्रतिशतले २४ खर्ब ४२ अर्ब ७८ करोड ४० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७६.५ प्रतिशतले बढी रु.११३ अर्ब ८७ करोड पुगेको छ । हायर पर्चेज कर्जा १४.५ प्रतिशतले र ओभरड्राफ्ट कर्जा १४.४ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा वर्षमा रु.१ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जा २०.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.० प्रतिशतले बढेको छ ।