रुपा कोइराला/बैंकिङ खबर । हाल नेपालमा २५ वटा फाइनान्स कम्पनी संचालनमा रहेका छन् । जसमध्ये, तीन वटा क्षेत्रीय स्तरका रहेका छन् भने २२ वटा वित्त कम्पनी राष्ट्रिय स्तरका छन् । संचालनमा रहेका फाइनान्स कम्पनीहरु अधिकांशले नेपाल राष्ट्र बैंकद्धारा निर्धारित चुक्तापुँजी पुर्याएका छैनन् ।
राष्ट्र बैंकको नीतिअनुसार, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले ८० करोड रुपैयाँ एवम् १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले ४० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने छ । अहिलेसम्म राष्ट्रिय स्तरका सात वटा फाइनान्सले चुक्तापुँजी पुर्याएका छन् ।
क्षेत्रीय स्तरका फाइनान्स कम्पनीहरु
एक जिल्ला (सप्तरी)मात्रै कार्यक्षेत्र भएको मल्टिपर्पोज फाइनान्सको चुक्तापुँजी जम्मा चार करोड १५ लाख रुपैयाँ रहेको छ । धनुषा महोत्तरी र सिराहालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको जानकी फाइनान्सको चुक्तापुँजी ४० करोड ३४ लाख रुपैयाँ पुगिसकेको छ भने मोरङ, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको सृजना फाइनान्सको चुक्तापुँजी पनि ४० करोड सात लाख रुपैयाँ पुगिसकेको छ ।
राष्ट्रिय स्तरका फाइनान्स
राष्ट्रिय स्तरका फाइनान्सहरुमध्ये, सबैभन्दा धेरै क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको चुक्तापुँजी ९३ करोड रहेको छ । त्यस्तै, सबैभन्दा कम चुक्तापुँजी क्रिष्टल फाइनान्सको सात करोड रुपैयाँ मात्रै रहेको छ । गुडविल फाइनान्स, गहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, युनाइटेड फाइनान्स, आईसी एफसी फाइनान्स, मञ्जुश्री फाइनान्स र गोर्खाज फाइनान्सले पनि निर्धारित चुक्तापुँजी पुर्याइसकेका छन् ।