May 22nd, 2016

यस्ता छन्, बिमा समितीले ल्याएका लघुबिमा योजनाहरु

bima samitiबिमा समितिले आर्थिक रूपमा पिछडिएका व्यक्तिलाई लक्षित गरी लघुबिमा योजना सार्वजनिक गरेको छ । यससँगै, न्यून आयका भएका व्यक्तिले पनि बिमा योजना गरिद गर्न पाउने भएका छन् । बिमा समितिले सबै व्यक्तिलाई बिमाको दायरामा ल्याउन लघुबिमा योजना ल्याएको हो । जसअन्तर्गत समितिले दुइटा जीवन बिमा र तीन वटा निर्जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । 

लघु निर्जीवन बिमाअन्तर्गत स्वास्थ्य लघुबिमालेख, गार्हस्थ्य लघुबिमालेख र व्यक्तिगत दुर्घटना बिमालेख सञ्चालनमा ल्याएको छ । लघु जीवन बिमाअन्तर्गत सावधिक लघु जीवन बिमालेख र म्यादी लघु बिमालेख सञ्चालनमा ल्याइएको छ । समितिले योजनाहरूको रूपरेखा तयार पारी लक्षित समूहमा योजना जारी गर्नसमेत बिमा कम्पनीहरूलाई निर्देशन दिइसकेको बताइएको छ । 

लघुबिमा निर्देशिका २०७१ अनुसार १ सय ५० रुपैयाँमा दुर्घटना लघुबिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ छ । बिमितले बिमांक रकमको ०.१ प्रतिशत बिमा शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, ५ सय रुपैयाँमा गार्हस्थ्य लघुबिमा योजना खरिद गर्न सकिनेछ । यो रकम बिमांक रकमको ०.२५ प्रतिशत हो । यस योजनाको बिमांक रकम २ लाखसम्म हुनेछ । यस योजनाले बिमितको सम्पत्तिको जोखिम बहन गर्छ । स्वास्थ्य लघुबिमा योजनाको बिमा शुल्क १ हजार ४ सय रुपैयाँ छ । यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरेबापत्त एक परिवारका ५ जना सदस्यले ३५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन् । लघुजीवन योजनाको बिमाशुल्क भने तय भई सकेको छैन ।