Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
समाचार

नागरिक गरीबीबाट मुक्त नभएसम्म  वित्तीय साक्षरता बढ्दैन

२०७५ श्रावण १० गते

नेपाल राष्ट्र बैंकले वित्तीय सबलीकरणका लागि भन्दै हरेक वर्षको मौद्रिक नीतिमार्फत नयाँ नयाँ व्यवस्था गर्दै आइरहेको छ । पुँजीवृद्धि, मर्जर, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि लगायतका व्यवस्थामार्फत वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने प्रयास केन्द्रीय बैंकले गरिरहेको छ । त्यस्तै, वित्तीय पहुँच विस्तारमा पनि राष्ट्र बैंकले जोड दिइरहेको छ । तर, अधिकांश स्थानीय तहमा बैंक पुगे तापनि वित्तीय साक्षरताको अवस्था जहाँको त्यहीँ छ । यसैबीच, विद्यमान वित्तीय अवस्था र केन्द्रीय बैंकको नीतिको सेरोफेरोमा रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी विजय पराजुलीले विज्ञ डा. गोपाल भट्टसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

नेपाल राष्ट्र बैंकका विद्यमान समस्याहरु केके छन् ? 
नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक हो । यसले नेपाल सरकारलाई, नेपालको आर्थिक प्रणालीलाई र नेपालको सम्पुर्ण वित्तीय प्रणालीलाई मार्गनिर्देश गर्ने काम गर्दछ । अहिलेको समयमा राष्ट्र बैंकभित्र केही समस्याहरु छन् :

अनुभवी जनशक्तिको अभाव : तीस बर्ष सेवा अवधि पुगेपछि नेपाल राष्ट्र बैंकबाट कर्मचारीहरु रिटायर हुनुपर्ने प्रावधान छ । यसले गर्दा विगतमा नेपाल राष्ट्र बैंकले कल्टीभेट गरेको ठुलो जनशक्ति एकैचोटी पलायन भएको अवस्था छ । यो पछिल्लो समयमा आएका जनशक्तिहरुले एक वा दुई डिपार्टमेन्ट बाहेक धेरै डिपार्टमेन्टको अनुभव नलिँदै  माथि बढेको अथवा तिनीहरुको करिअर बढेको अवस्थाले गर्दा नेपाल राष्ट्र बैंकमा अनुभवी कर्मचारीको आवश्यक छ । 

स्वायत्तता गुम्दै : पछिल्लो समयमा नेपाल राष्ट्र बैंंकको स्वायत्तता पनि घट्दै गएको अवस्था छ । देशको सविधानले नेपाल राष्ट्र बैंकको जनशक्ति लोकसेवामार्फत नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । पहिले राष्ट्र बैंकले आफ्नो जनशक्ति आफैँ लिन सक्थ्यो । जनशक्तिहरुको पनि आकर्षण थियो । पछिल्लो समय भने संवैधानिक रुपमा नै राष्ट्र बैंक एउटा सरकारी संस्था जस्तो भएको छ । यसले नेपाल राष्ट्र बैंकको गरिमा घटाएको छ । 

२०५८ सालको ऐन बनेपछि नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीति आफैँ तयार गरेर सरकारलाई गाइड गथ्र्थोसरकारले लिएको कदमप्रति फरक विचार राख्न सक्ने क्षमता राष्ट्र बै.कको थियो । अहिले त्यो क्षमता अत्यन्त कमजोर भएको छ । अहिले मौद्रिक नीति सरकार, अर्थमन्त्री  प्रधानमन्त्रीले हेरेर आउनुपर्ने अवस्था आएको छ । 

मौद्रिक नीति सरकारसँग नभई देशको अर्थतन्त्रसँग सम्बन्धित हुन्छ । मौद्रिक, वित्तीय र बाहिरी स्थायीत्व कायम र्गे जिम्मेवारी राष्ट्र बैंकको काँधमा हुने भएकाले राष्ट्र बैंकको स्वायत्तता फर्काउनुपर्छ । 

अन्य मुलुक र नेपालको केन्द्रीय बैंकमा केके भिन्नता छ ?
पहिले नेपालको केन्द्रीय बैंक अन्य मुलुकको भन्दा पनि राम्रो थियो । स्थापनाको सुरुवातमा गभर्नरको मर्यादा मुख्य सचिवभन्दा माथि राखिएको थियो । आज, गभर्नरको मर्यादा सचिवस्तरको छ । अन्य देशहरुमा गभर्नरहरुलाई स्टाविलिटी दिइएको हुन्छ । अमेरिकामा एउटा गभर्निङ बोर्डको कार्यकाल १३।१४ वर्षसम्म हुन्छ । फिल्पीन्समा १२/१३ बर्ष सम्म केन्द्रीय बैंकलाई एउटै गभर्नरले चलाएको हुन्छ । अरु देशहरुमा केन्द्रीय बैंकले बोल्नसाथ सबैमा प्रभाव पर्छ । तर, नेपाल राष्ट्र बैंकमा बोर्ड बैठक धेरै बस्छ र यसको प्रभाव कतै देखिँदैन । मौद्रिक नीतिको समयमा बाहेक राष्ट्र बैंकको  अन्य बैठकलाई महत्वका साथ हेरिँदैन । यसले पछिल्लो समयमा नेपालको केन्द्रीय बैंक एकदमै हलुका भइसकेको संकेत गर्छ ।

नेपालको वित्तीय क्षेत्र सधै अस्थीर मात्र देखिरहेको छ, वित्तीय क्षेत्र स्थायित्वका लागि के के गर्नुपर्ला ? 
नेपालको वित्तीय क्षेत्र अस्थिर छैन । वित्तीय स्थिरता आन्तरिक र बाह्य गरी दुई किसिमको हुन्छ । अहिले दुवै स्थिरता त्यति जोखिम अवस्थामा छैनन् । बाह्य रुपमा केही चाप पर्न थालेको छ तर, बिग्रिसकेको अवस्था छैन । 
आन्तरिक स्थीरता ५/६ प्रतिशतमा नै छ । पछिल्लो समय त मूल्य स्थीरता पनि कायम भएको छ । बाह्य क्षेत्रलाई हेर्ने हो भने पनि विदेशी विनिमय सञ्चिति सहज अवस्थामा नै छ । विनिमय दर केही घटिरहेको छ । आयात र निर्यात बीचमा ठूलो अन्तर हुने भनेको वित्तीय अस्थिरता हो । अहिले हाम्रो मूख्य चुनौती भनेकै यही छ । यस विषयमा राष्ट्र बैंकले ध्यान पुर्याउनुपर्ने देखिन्छ । 

यसका लागि सबै भन्दा ठुलो बाधक सरकारको संरचनागत सोचाइ छ । विकासको संवाहक कसलाई बनाउने भन्ने विषयको टुंगो छैन । सरकारसँग पुँजी छैन । पुँजी भएको निजी क्षेत्रको नियमन छैन । निजी क्षेत्रको महत्व नघटाई तीनीहरुलाई नियमन र छाँटकाँट गर्दै अगाडी लैजानुपर्छ । निजी क्षेत्र नाफामुखी मात्रै हुन्छ भन्ने आम सोचाईलाई परिवर्तन गर्ने गरी निजी क्षेत्रलाई मुलुकको विकासमा परिचालन गर्नुपर्छ ।
 
मर्जर नीतिपछि पनि बैंकहरुको संख्या धेरै भएको भनिन्छ । साँच्चै नेपालमा बैंकहरुको संख्या धेरै भएको हो त ? 
यो विषयमा मेरो विचार फरक छ । नेपाल राष्ट्र बैंकले लाइसेन्स खुलाएपछि मार्केट इकोनोमी बढ्यो । त्यसपछि बैंकिङ क्षेत्रलाई सबल बनाउने भन्दै पुँजी बढाउने माग गरियो । त्यसपछि मर्जर नीति ल्याइयो । तर, यस्ता नीतिहरु अध्ययन बिना नै ल्याइयो । सुरुमा लाइसेन्स दिँदा के आधारमा दिइयो ? लाइसेन्स दिने त राष्ट्र बैंक नै  हो । अहिले फेरि कहाँ र के कमजोरी देखेर मर्जरको कुरा भइरहेको छ ? मर्जरपछिका जोखिमहरुको अध्ययन भएको छ कि छैन ? मर्जरपछि बैंकको आउटपुट, कर्मचारीहरुको व्यवस्थापन लगायतका विषयमा अध्ययन भएको छ त ? अनि, बैंकको संख्या कति हुनुपर्ने भनेर कसले अध्ययन गरेको छ ? मलाई लाग्छ, अध्ययनबिना नै सबै नीतिहरु आएका कारण के ठीक र के बेठीक भन्ने अवस्था छैन । अहिले फेरि मेगा मर्जरको कुरा आएको छ । तर, यसमा पनि अध्ययन भएको छैन । यदि अध्ययन गरेर नेपालको अर्थतन्त्रका लागि यति बैंक तथा वित्तीय संस्था पर्याप्त हुन्छ भन्ने निष्कर्ष निस्किएको भए बिग मर्जर ठीक हो वा हैन भन्न सकिन्थ्यो । तर, अध्ययनबिना नै नीति बनाउने हो भने मेगा मर्जर गलत हो । 

नेपालमा वित्तीय साक्षरता अझै पनि कमजोर देखिएको छ । यसलाई बढाउन के के गर्नुपर्ला ?
हाम्रो देशको विकास नै राम्रोसँग नभइसकेको अवस्थामा अहिले संघीय र स्थानीय सरकारको नाममा अर्थतन्त्रलाई बैंकिङ केन्द्रित बनाउन खोजिएको छ । पहिलो कुरा, नेपालमा कतिपय हिमाली र पहाडी जिल्लाहरुमा मौद्रिकीकरण भइसकेको छैन । दोस्रो कुरा, दुर्गमा भेगका मानिसहरुको ध्यान साक्षरताभन्दा काममा बढी छ । जस्तै, डोल्पा, मुगुतिरका मानिसहरु पढाई छोडीछोडी यार्सागुम्बा टिप्न जान्छन् । किनकि, उनीहरुको ज्यान पाल्नका लागि काम गर्नैपर्छ । यस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा साधारण साक्षरता त छैन, वित्तीय साक्षरता कसरी पुगोस् । त्यसकारण, पहिले साधारण शिक्षामा अगाडी बढाएर मात्रै वित्तीय साक्षरताको कुरा गर्नुपर्छ । जब मानिसले कमाउन थाल्छ, त्यसपछि उसको ध्यान वित्तीय साक्षरतातर्फ ध्यान जान्छ । जीविकोपार्जन कसरी गर्ने भनेर सोचिरहेका मानिसहरुले पैसा कहाँ र कसरी जम्मा गर्ने, लगानी कहाँ गर्ने भन्ने विषयमा कसरी सिक्न सक्छन् ? न त उसँग पैसा छ, न त समय । एक छिन काम गरेन भने एक छाक भोको बस्नुपर्ने अवस्था छ । त्यसैले, जबसम्म गरीबीबाट मानिसहरु मुक्त हुँदैनन्, तबसम्म वित्तीय साक्षरताको कमी भइरहन्छ । 

मेनेजमेन्ट पढेका विद्यार्थीहरु राष्ट्र बैंकमा जागीर खान इच्छुक भइरहेका छन् । राष्ट्र बैंकमा जागीर गर्न कस्तो योग्यता हुनुपर्छ ?
अहिले अधिकांश विद्यार्थीहरु मेनेजमेन्ट पढिरहेका छन् । संस्थागत नेतृत्वका साथै सरकारी अफिसर, राष्ट्र बैंकमा जागीरे, बैंकर, प्रोजेक्ट मेनेजर लगायतको उत्पादन मेनेजमेन्ट शिक्षाले नै गर्छ । नेपालको मेनेजमेन्ट शिक्षाको कोर्स नेपालका हरेक विश्वविद्यालयले राम्रोसँग विकास गरेका छन् । मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीसँग अर्थशास्त्रको राम्रो ज्ञान हुने भएकाले उनीहरुको करिअरको ढोका धेरै क्षेत्रमा खुला हुन्छ ।
 
नेपाल राष्ट्र बैंककै कुरा गर्ने हो भने चाहिँ, दुई वटा विषयमा बढी ज्ञान हुनुपर्छ : मेनेजमेन्ट र अर्थशास्त्र । यसबाहेक अन्य कुराहरुको पनि जानकारी भए झन् प्लस पोइन्ट हुन्छ । केन्द्रीय बैंक हरेक देशमा एउटा मात्रै हुन्छ, जसको गरिमा भनेको मुद्रा निष्काशन हो । यसबाहेक, बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन र निर्देश गर्ने, मौद्रिक नीति बनाउने लगायतका कारण केन्द्रीय बैंकले गर्छ । त्यसैले, राष्ट्र बैंकमा ठूलो मेनपावरको आवश्यकता पर्दछ । कर्मचारीको तालिम लगायतका लागि राष्ट्र बैंकले ठूलो लगानी गरेको हुन्छ । राष्ट्र बैंकको कर्मचारीले देश विदेशका विभिन्न इन्स्च्यिुट, वल्र्ड बैंक, वित्तीय संगठन, क्षेत्रीय संगठन लगायतमा एक्सपोजर पाउँछ । यसका लागि पनि उक्त कर्मचारी एकदम सक्षम हुनुपर्छ । 

पहिला पहिला नेपाल राष्ट्र बैंक आफैले मेनपावर लिने गरेको थियो तेती बेला पनि धेरैमध्येबाट छानेर , जो राष्ट्रको क्रीम व्यक्तिहरु हुन उनीहरुमात्र जान पाउथे किनभने नेपाल राष्ट्र बैंकमा जानको लागि ठुलो प्रतिष्पर्धा पार गरेर मात्र नेपाल राष्ट्र बैंकको कर्मचारी हुन सकिन्थो । तर अहिले लोकसेवा मार्फत राष्ट्र बैंकमा आएका कर्मचारीहरु र पहिला नेपाल राष्ट्र बैंकले नै लिने मेनपावरका कर्मचारीहरुमा धेरै फरक पाइन्छ ।  राष्ट्र बैंक स्यम आफैले लिएको मेनपावर राम्रो थियो । राष्ट्र बैंकमा राम्रा दक्ष मेनपावर आउने हुनाले राष्ट्र बैंकको महत्व धेरै छ । 

नेपालको बैंकिङ क्षेत्रको अवसरहरु के के हुन् ?
नेपालमा बैंकिङ क्षेत्रमा अहिले धेरै अवसरहरु छन् । विगतमा राजनीतिक अस्थिरताका कारणले धेरै अवसरहरु खुम्चिएका थिए । अहिले राजनीतिक स्थीरता कायम भएको छ । देशले स्थायी सरकार भएको छ । संविधान बनेको छ । अब देशको राजनीतिले साँच्चै स्थीर मोड लिएको हो भने बैंकिङ क्षेत्रका लागि अझ धेरै अवसरहरुको विकास हुन्छ । 

राजनीतिक पार्टीहरुले पनि आर्थिक विकास, समृद्धि अथवा अर्थतन्त्रलाई नै मूख्य एजेण्डा बनाएका छन् । 
अर्थतन्त्र विकासका लागि इनभेष्टमेन्ट चाहिन्छ र लगानी गर्ने अनुकुल वातावरण चाहिन्छ । मुलुकमा लगानी गर्ने एउटा इन्स्टिच्युटहरु हुन् भने अर्को वित्तीय संस्थाहरु नै हुन् । लगानीको वातावरणलाई सुनिश्चित गर्ने हो भने र आर्थिक समृद्धि साँच्चै चाहेको हो भने नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु छन् । नेपालमा क्यापिटल मार्केटको विकास राम्रोसँग नभइसकेकाले बैंकिङ क्षेत्र नै मुलुकको विकासको प्रमुख आधार हो । माग अनुसार लगानी बढ्ने र बैंक तथा वित्तीय संस्थाहरुको लगानी क्षेत्र पनि बढ्ने हो भने सम्भावनाहरु प्रशस्त छन् । राजनीतिक स्थीरता कायम राख्दै सरकारले निजी क्षेत्रलाई परिचालन गर्न सक्यो भने बैंकिङ क्षेत्रका लागि अवसर बढ्ने समय आएको छ ।

वित्तीय क्षेत्रका वर्तमान चुनौतीहरु केके हुन् ?
वित्तीय क्षेत्रको सबैभन्दा ठुलो चुनौती भनेको ओभर साइड हो । मागहरु आएअनुसार सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न दिन्छ । तर, नियामक निकाय नेपाल राष्ट्र बैंकको ओभरसाइड कमजोर भएको र क्षमता अभिवृद्धि नभएका कारण चुनौतिपूर्ण बनिरहेको छैन । 

विश्वका धेरै प्रविधिहरु भित्रिसकेका छन् । नेपालको वित्तीय क्षेत्र अर्थतन्त्रसँग जोडिसकेको छ । तर, नेपाल राष्ट्र बैंकले सबै टेक्नोलोजीलाई ओभरसाइड गर्न सकेको देखिँदैन । लगानी गरेको पैसा कहाँबाट आएको छ ? लगानी गर्न लागेको पैसा कतै कालो धन पो हो कि ? लगानी गरिएको रकम स्वदेशमा रहेको छ भने बाहिर गइरहेको छ ? लगायतलाई हेर्ने मेकानिजम छ कि छैन ? त्यो क्षमता छ कि छैन ? सबैभन्दा पहिले यसलाई बुझ्नु जरुरी छ । 

वित्तीय क्षेत्रमा सानो गल्ती भयो र कुनै घटना घट्यो भने त्यसको असर सम्बन्धित संस्थामा मात्र नभएर अन्य क्षेत्रहरुमा पनि पर्न जान्छ । उक्त संस्थाको सिस्टमप्रति अविश्वास त पैदा हुन्छ नै समग्र अर्थतन्त्रलाई समेत धक्का लाग्न पुग्छ । त्यसैले, क्रेडिबिलिटी रिस्क पनि वित्तीय क्षेत्रको ठूलो चुनौती हो । 

यी चुनौतीहरुको समाधानका उपायहरु केके हुन सक्छन् ?
वित्तीय क्षेत्रका समस्या समाधानका लागि काम गर्नुभन्दा पहिले त योजना नै बनाउनुपर्छ । हरेक नीतिहरु अध्ययनको आधारमा ल्याउनुपर्छ । किनकि, अध्यानबिनाका नीतिहरु असफल हुन्छन् । त्यस्तै, केन्द्रीय बैंक र सरकारको क्षमता अभिबृद्धि गर्नुपर्छ । मेनपावरहरुलाई बढीभन्दा बढी दक्ष बनाउनुपर्छ । कर्मचारी नियुक्त गर्दा प्राविधिक ज्ञान लगायतका विषयमा ध्यान दिनुपर्छ । अहिले कुन ठाउँमा कस्तो मान्छे राख्ने भन्ने कुरा नै नमिलिरहेको अवस्था छ । जस्तै, कुनै शिक्षकलाई पुँजी बजारमा लगेर राखिदियो भने त्यसको आउटपुट के हो ? त्यसैले, दक्षताका आधारमा उचित व्यक्तिलाई उचित पद र जिम्मेवारी दिनुपर्छ । राजनीतिक नियुक्तिका पदहरु बनाएर कर्मचारी राख्दा अहिले देशको आर्थिक अवस्था दिनानुदिन नकारात्मकतिर गइरहेको छ । प्रोफेशनालिजम भन्ने कुराको कदर नै भएको छैन । पुँजी बजारमा पुँजी बजारको विज्ञ, बीमा समितिमा बीमा विज्ञ राख्नुपर्छ । तब मात्र उनीहरुले उक्त क्षेत्रका लागि राम्रो काम गर्छन् । फलस्वरुप, सम्बन्धित संस्थालाई मात्रै नभएर सर्वसाधारण र आखिरमा समग्र मुलुकलाई समेत फाइदा पुग्छ ।