बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि २५ बुँदे एकीकृत निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएका विभिन्न व्यवस्थाहरु लागू गर्न निर्देशन दियो । त्यस्तै, डिजिटल कारोबारको सीमामा पनि हेरफेर गरियो । कर्मचारी संचय कोषले व्याजदर परिवर्तन गर्यो । समग्रमा साताभरका प्रमुख वित्तीय खबरहरु यहाँ प्रस्तुत गरिन्छ :
बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि २५ बुँदे एकीकृत निर्देशन जारी गर्यो । निर्देशनमा नयाँ स्प्रेडदर लागू गर्ने, प्रादेशिक कार्यालय खोल्ने, मार्जिन लेण्डिङ सम्बन्धी व्यवस्था लागू गर्ने, अनिवार्य नगद मौज्दात सम्बन्धी व्यवस्था लागू गर्ने लगायतका विषयहरु समावेश गरिएको छ ।
डिजिटल कारोबारको सीमामा हेरफेर
नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमामा हेरफेर गर्यो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिंङ्ग सेवा लगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा नयाँ व्यवस्था लागु गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका नाममा निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
कर्मचारी सञ्चय कोषको व्याजदर परिवर्तन
कर्मचारी सञ्चय कोषले व्याजदर परिवर्तन गर्यो । कोषले मंगलबारदेखि लागू हुने गरी बचत र ऋण दुबैको व्याजदर ०.२५ प्रतिशत ले वृद्धि गरेको छ । कोषमा रकम जम्मा गर्दा सञ्चयकर्ताले पाउने व्याजदर ८.२५ प्रतिशत कायम भएको छ । त्यस्तै, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर ९.७५ प्रतिशत पुर्याइएको छ । सरल चक्र कर्जामा ब्याज बढाएर १० बाट बढाएर १०.२५ प्रतिशत बनाइएको छ । यसैगरी ४० लाख रुपैयाँभन्दा माथिको घर सापटीमा लिने ब्याजदर १०.२५ प्रतिशत बनाइएको कोषले जानकारी दिएको छ । कोषले विशेष सापटीको ब्याजदर भने स्थीर राखेको छ । यसैगरी सञ्चयकर्तालाई दिँदै आएको विशेष सापटी रकमको सीमा पनि कोषले घटाएको छ । जसअनुसार, कूल सञ्चय कोष मौज्दातको ८० प्रतिशत रकम मात्रै यो शीर्षकमा ऋण पाइन्छ । यसअघि सञ्चयकर्ताले ९० प्रतिशत रकम पाउँदै आएका थिए । यसअघि ९० प्रतिशतको सीमाभित्र विशेष सापटी लिएका सञ्चयकर्ताको हकमा समेत ८० प्रतिशतको सीमा कायम गरेर मात्र पुनः सापटी प्रदान गर्ने कोषले जनाएको छ ।
१४ सहकारीको सिमित बैंकिङ कारोबार गर्ने अनुमतिपत्र खारेज
सिमित बैंकिङ कारोबार गर्न अनुमतिप्राप्त १४ सहकारी संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले आफ्नो नियामकीय तथा सुपरीवेक्षकीय दायराबाट छुट्याएको छ । साउन १ गतेदेखि लागू हुने गरी १४ वटा सहकारीलाई सिमित बैंकिङ कारोबार गर्न दिइएको अनुमतिपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
ज्योतिले हाम्रो विकास बैंक किन्ने
ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यससम्बन्धमा दुई बैंकबीच आइतबार (असार ३१ गते) सम्झौता भयो । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ती गर्न लागेको हो ।
धितोपत्र बोर्डद्धारा निर्देशिका संशोधन
नेपाल धितोपत्र बोर्डले सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिकालाई संशोधन गर्यो । बोर्डले चुक्ता पूँजी ५० हजार रुपैयाँ सम्मको लगानी गर्ने लगानीकर्तालाई साना लगानी लगानीकर्ताभित्र राखेको छ । बोर्डले उस्तै प्रकृतिका सूचीकृत संस्थाको संचालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने व्यवस्था गरेको छ । त्यस्तै बोर्डले कुनै सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा प्राप्त हुने गरि पदमा बहाल रहेको व्यक्ति अर्को सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा पाउने गर्ने नियुक्त हुन नसक्ने व्यवस्था समेत गरेको छ ।
फर्किए साउद
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउद शुक्रबारदेखि पुनः नेप्से फर्किए । सरकारले बर्खास्त गरेका साउद अदालतको आदेश बमोजिम पुर्नवहाली भएका हुन् । गत आइतबार सर्वोच्च अदालतले साउदलाई पुर्नवहाली गर्न आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको पाँच दिनपछि साउद नेप्सेको कार्यभार सम्हाल्न फर्किएका हुन् ।
करको दायरा बढ्यो
नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा सरकारले करको दायरा बढायो । अब लगानीकर्ताले सेयर कारोबार गर्दा “क्लोज आउट“मा तिर्नुपर्ने जरिवानामा कर लाग्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले मंगलबारदेखि क्लोज आउटमा लगानीकर्ताले प्राप्त गरेको आकस्मिक लाभमा २५ प्रतिशत(आकस्मिक लाभकर) तिर्नु पर्ने जनाएको छ ।
एनआईसी एशिया बैंकको मिस्ड कल बैंकिङ्ग सेवा
एनआईसी एशिया बैंकले मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्यायो । यो सेवाको सुरुवातसँगै अब बैंकका ग्राहकहरुले निम्न सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सक्नेछन् ।
१. ब्यालेन्स जानकारी ःमोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने ।
२. मिनी स्टेटमेन्ट जानकारी ःमोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
३. कलब्याक सेवाः मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
सानिमा बैंकमा सजिलो कर्जा प्रक्रिया
सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखि सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्यायो । यस प्रविधी अन्तर्गत कम्प्युटर, मोवाइल वा ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी घरै बसि आफ्नो कर्जा सिमा थाहा पाउन सकिन्छ साथै कर्जा आवेदन पनि दिन सकिनेछ । यस प्रविधिको प्रयोग गरि कर्जा आवेदन गर्ने ग्राहकलाई कर्जा सेवा शूल्कमा आकर्षक छुटको व्यवस्था गरिएकोे छ ।
कामना सेवा विकास बैंकमा नयाँ संचालक समिति
कामना सेवा विकास बैंकको सोमबार सम्पन्न साधारणसभाले ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गर्यो । जसमा सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी रहेका छन् । साधारणसभा पश्चात बसेको संचालक समितिको बैठकले सुदिप आचार्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।
शाखा तथा सेवा विस्तार
प्रभु बैंकले बागलुङ्ग जिल्लाको तारा खोला गाउँपालिका वडा नं. ३ र भोजपुर जिल्लाको हतुवागढि गाउँपालिका वडा नं. १ मा गरी २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्यायो ।
सिटिजन्स बैंकले प्यूठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र आछामको ढकारीमा शाखा संचालन गर्यो ।
गण्डकी विकास बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा विस्तार गर्यो ।
राष्ट्रिय वाणिज्य बैंकले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ६ स्थित सोरुकोटमा शाखा कार्यालय सोरु, रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं. २ स्थित शाखा कार्यालय बाक्सिलाबाट कारोबार सुरु गर्यो ।
एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा शाखा सञ्चालनमा ल्यायो ।
एनआईसी एशिया बैंकले पर्वतको थापाठानामा र बर्दियाको सितला बजार एवम् तनहुँको साँखे बजार र कलेस्तीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्यायो ।
सम्झौता
गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच गरिमा रेमिट र कुमारी रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भयो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भयो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भयो ।
अन्य
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बैंकको केन्द्रीय कार्यालयमा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई पुरस्कृत गर्यो ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि. शाखा कार्यालय गेटा कैलालीले शाखा कार्यालयमा आवद्ध ११४ जना ग्राहक सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गर्यो ।