May 20th, 2016

रेमिट्यान्स आप्रवाह घट्नुका प्रमुख ४ कारणहरु

remitanceविदेशमा काम गर्ने नेपालीले बैंकिङ च्यानलबाट पठाउने रेमिट्यान्स घट्न थालेको छ । गत वर्ष भूकम्पछि उच्च दरमा बढ्न थालेको रेमिट्यान्स वृद्धिदर चालू आर्थिक वर्षको असोजबाट ओरालो लाग्न थालेको नेपाल राष्ट्र बैँकले जनाएको छ । राष्ट्र बैँकका अनुसार, चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा मात्र रेमिट्यान्स वृद्धिदरमा आधा कमी आइसकेको छ । असोजमा २४ प्रतिशत वृद्धिदर रहेको रेमिट्यान्स चैतसम्ममा १३ प्रतिशतमा झरेको छ । यो अवधिमा ४ खर्ब ८१ अर्ब ६९ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैँक तथा विभिन्न विश्लेषकहरुको विश्लेषणलाई आधार मान्दा रेमिट्यान्स आप्रवाह घट्नुका मूख्य ४ कारणहरु निम्नानुसार छन् :

वैशाखमा भूकम्प गएपछि विदेशमा रहेका नेपालीले आफन्तलाई रकम पठाएकाले रेमिट्यान्स भित्रिने क्रम बढेको थियो । उक्त समयमा रेमिट्यान्स कम्पनीले पनि सेवा शुल्क छुट दिएर प्रोत्साहन गरेका थिए । तर, असोजबाट फेरि रेमिट्यान्स घट्न थालेको छ । केन्द्रीय बैंकले विदेश जाने कामदार घटेकाले रेमिट्यान्समा असर परेको विश्लेषण गरेको छ । 

म्यानपावर व्यवसायीको आन्दोलन, भूकम्प र नाकाबन्दीका कारण चालू आवमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै गएको छ । चालू आवको चैतसम्ममा वैदेशिक रोजगारीमा जानेको संख्या २५ प्रतिशतले घटेर ३ लाख ११ हजारमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा ४ लाख १६ हजार नेपाली बिदेसिएका थिए । यसैकारण पनि रेमिट्यान्समा प्रत्यक्ष असर परेको हो । 

नेपालको अर्थतन्त्रको आधार मानिने रेमिट्यान्स आप्रवाहमा कमि आउन थालेपछि गत वर्ष राष्ट्र बैंकले प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनबाट हुन्डी र अवैध सुन कारोबारले रेमिट्यान्स घटेको भेटिएपछि नियन्त्रण थालिएको थियो । त्यसपछि कात्तिक–मंसिरयता रेमिट्यान्स वृद्धिदर ओरालो लाग्न थालेको हो । हुन्डी कारोबारीमार्फत रकम पठाउने हुँदा वैधानिक च्यानलमा रेमिट्यान्स देखिँदैन । 

यसैगरी, विदेश गएका नेपालीले रेमिट्यान्सको सट्टा सुन, मोबाइल, टिभीलगायतका भौतिक सामान ल्याउने भएकाले पनि रेमिट्यान्समा असर गरेको देखिएको छ । यद्यपि, अवैध कारोबार बढेर रेमिट्यान्स वृद्धिदर घटेको भनेर दाबी गर्ने आधार भने नरहेको राष्ट्र बैँकले जनाएको छ । हाल झिटिगुन्टा व्यवस्थाअन्तर्गत विदेशबाट फर्किने नेपालीले प्रतिव्यक्ति ५० ग्राम सुन (४.३ तोला) बिनाभन्सार ल्याउन पाउने सुविधा छ । यो सुविधाअन्तर्गत सुन ल्याएर नेपाली बजारमा बिक्री गर्दा २५–३० हजार रुपैयाँ फाइदा हुन्छ । यसैगरी, विदेशमा ६ महिनाभन्दा बढी समय बसेर फर्किने कामदारले ३२ इन्चभन्दा कमको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने व्यवस्था छ । विदेशबाट फर्किनेहरूले यी सुविधाअन्तर्गत सुन र टेलिभिजन ल्याएर बजारमा बेच्ने प्रचलन बढ्दै गएकाले बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्समा असर पर्ने गरेको छ । 

आर्थिक वर्ष ०७१÷७२ को भदौमा नकारात्मक भएको रेमिट्यान्स आप्रवाह कात्तिकबाट सकारात्मक हुन थालेको थियो । त्यसपछि लगातार बढ्दै गत आवको अन्त्य असारमा वृद्धिदर १३.६ प्रतिशत पुगेको थियो । त्यसपछिको २ महिनासम्म रेमिट्यान्स आप्रवाह लगातार बढ्यो । ०७२ भदौमा रेमिट्यान्स वृद्धिदर २७.५ प्रतिशतसम्म पुगेको थियो । असोज महिनादेखि भने सो क्रमले निरन्तरता पाउन सकेन ।