May 21st, 2016

डेढ वर्षपछि पत्ता लाग्यो नेपाली बैँकका डाटा ह्याक गर्ने समूह 

hackerटर्किस ह्याकर्स समूहले नेपालका सानिमा बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकका डाटा ह्याक गरेको खुलासा भएको छ । बैंकका ग्राहक र कर्मचारीसम्बन्धी तथ्यांक सार्वजनिक गरेको दाबी ह्याकर समूहले गरेको हो । समूहले सन् २०१५ को सुरुवातमै उल्लिखित वित्तीय संस्थाको डाटा ह्याक गरेको जनाएको छ । टर्कीको कुख्यात ह्याकर बजक्रटलर नामक समूहले ती डाटा मे १० मा सार्वजनिक गरेको दाबी गरिएको हो । डेढवर्ष अघि दुई बंगाली नागरिकले यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यो समूहसँग तीनै बंगाली व्यक्तिको सम्बन्ध भएको हुनसक्ने अनुमान प्रहरीको छ । 

ह्याकर समूहले सार्वजनिक गरेका नेपाली दुई बैंकका तथ्यांक जनवरी र फेब्रुअरी २०१५ सम्म छ । सानिमा बैंकको सार्वजनिक भएको ४७ एमबी डाटामा ग्राहकको नाम, खाताको मौज्दात र तत्काल भएको कारोबार उल्लेख छ । यस्तै बिजनेस युनिभर्सलको सबैभन्दा बढी दुई सय ५१ एमबी डाटामा ग्राहकका सम्पूर्ण जानकारीसहित माइक्रोसफ्ट आउट लुकमा भएका इमेल कुराकानी रहेको इलेक्ट्रोनिक डाटा सुरक्षा र प्रवद्र्धन क्षेत्रमा सक्रिय डाटा ब्रिचको वेबपेज डाटा ब्रिच टुडेले जनाएको छ ।

यही समूहले नेपालबाहेक बंगलादेशी सेना र अन्तर्राष्ट्रिय स्तरका तीन बैंकका तथ्यांकसमेत ह्याक गरेको दाबी गरेको छ । ब्रिच टुडले एक साताअघि आफ्नो वेबसाइटमार्फत बजक्रटलरले सानिमा र बिजनेससहित बंगलादेशका डच बंगला बंैक, द सिटी बैंक र बंगलादेशी सेनाको कल्याणकारी कोषबाट सञ्चालित ट्रस्ट बैंकका डाटासमेत सार्वजनिक भएको जनाएको हो ।