बैंकिङ खबर । अब वाणिज्य बैंकहरुले भारतीय मुद्रामा पनि बाह्य ऋण परिचालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले २०७४ चैत २० गते वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । यसको दायरा थप विस्तार गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरिने उल्लेख गरेको छ ।
विगत दुई वर्षयता उद्योग व्यवसायीको मनोबलमा सुधार आई बैंक कर्जाको माग बढेको छ । एकातिर बैंक कर्जाको माग बढेको छ भने अर्कोतर्फ मुलुकको शोधनान्तर स्थिति घाटामा छ । यसका अतिरिक्त उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न लगानीयोग्य साधनको आपूर्ति बढाउनुपर्ने र समावेशी अर्थतन्त्रको निर्माणका लागि कर्जाको विवेकपूर्ण बाँडफाँडमा ध्यान दिनुपर्ने आवश्यकता छ । यी सबै तथ्यहरुलाई दृष्टिगत गर्दा शोधनान्तर घाटाको समस्या समेत सम्बोधन हुने गरी कर्जा व्यवस्थापनका उपायहरु अवलम्बन गर्नुपर्ने देखिएको भन्दै यसै पृष्ठभूमिमा लगानीयोग्य साधन बढाउने उद्देश्यले भारुमा पनि ऋण परिचालन गर्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।