Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर नतिर्ने ५२ व्यावसायिक फर्मको कारोबार रोक्का

२०७५ असार २५ गते

आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फर्मको कारोवार रोक्का गर्ने भएको छ । पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फर्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीले बताए । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

“कारोवार रोक्का गर्न लागेका फर्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका छन्,” पंज्ञानीले भने । फर्मको कारोवार रोक्का, खाता रोक्का, सरकारी कार्यालयबाट लिनुपर्ने भए सो रकम रोक्कालगायतका काम गर्न लागिएको छ । कार्यालयमा व्यक्तिगत प्यान लिने ३० हजार, मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार र व्यावसायिक प्यान लिने ४४ हजार करदाता छन् । चालू आर्थिक बर्षमा व्यक्तिगत र व्यावसायिक प्यान लिने संख्या ६ हजार रहेको छ ।

आन्तरिक राजश्व कार्यालयले चालू आवको जेठमा मात्र  दुई अर्ब ७९ करोड ६१ लाख ४४ हजार राजश्व संकलन गरेको छ । विभागले कार्यालयलाई  दुई अर्ब १८ करोड ७२ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । लक्ष्य दिएभन्दा ६० करोड ८८ लाख ८३ हजार बढी राजश्व संकलन भएको छ ।

कार्यालयले चालू आवको जेठ मसान्तसम्ममा  १९ अर्ब ४९ करोड ५२ लाख ७७ हजार राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्ममा  १७ अर्ब ३६ करोड ६६ लाख ३४ हजार राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । अहिलेसम्म लक्ष्यभन्दा  दुई अर्ब १२ करोड ८६ लाख ४३ हजार बढी राजश्व संकलन गरिसकेको छ । यस कार्यालयले नवलपुर र चितवन जिल्ला हेर्दै आएको छ । रासस