July 9th, 2018

कर नतिर्ने ५२ व्यावसायिक फर्मको कारोबार रोक्का

आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फर्मको कारोवार रोक्का गर्ने भएको छ । पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फर्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीले बताए । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

“कारोवार रोक्का गर्न लागेका फर्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका छन्,” पंज्ञानीले भने । फर्मको कारोवार रोक्का, खाता रोक्का, सरकारी कार्यालयबाट लिनुपर्ने भए सो रकम रोक्कालगायतका काम गर्न लागिएको छ । कार्यालयमा व्यक्तिगत प्यान लिने ३० हजार, मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार र व्यावसायिक प्यान लिने ४४ हजार करदाता छन् । चालू आर्थिक बर्षमा व्यक्तिगत र व्यावसायिक प्यान लिने संख्या ६ हजार रहेको छ ।

आन्तरिक राजश्व कार्यालयले चालू आवको जेठमा मात्र  दुई अर्ब ७९ करोड ६१ लाख ४४ हजार राजश्व संकलन गरेको छ । विभागले कार्यालयलाई  दुई अर्ब १८ करोड ७२ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । लक्ष्य दिएभन्दा ६० करोड ८८ लाख ८३ हजार बढी राजश्व संकलन भएको छ ।

कार्यालयले चालू आवको जेठ मसान्तसम्ममा  १९ अर्ब ४९ करोड ५२ लाख ७७ हजार राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्ममा  १७ अर्ब ३६ करोड ६६ लाख ३४ हजार राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । अहिलेसम्म लक्ष्यभन्दा  दुई अर्ब १२ करोड ८६ लाख ४३ हजार बढी राजश्व संकलन गरिसकेको छ । यस कार्यालयले नवलपुर र चितवन जिल्ला हेर्दै आएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]