बैंकिङ खबर । मौद्रिक नीति असार अन्तिम साता मात्रै आउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले असार मसान्तभित्रमा नै आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने जानकारी दिए । विगत दुई वर्षदेखि राष्ट्र बैंकले त्रैमासिक रुपमा मौद्रिक नीतिको समीक्षा गर्दै आइरहेको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको समीक्षा गर्नुपर्ने भएकाले मौद्रिक नीतिमा केही ढिलाई भएको बताए ।
विग मर्जरको विषय अहिले नसमेटिने
आगामी वर्षको मौद्रिक नीतिमा विग मर्जरको विषय आउने धेरैको अनुमान भएपनि मौद्रिक नीतिमा सो विषय नसमेटिने भएको छ । तीन वर्षअघि मात्रै बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि तथा मर्ज गरेकाले तत्काल विग मर्जरमा जान नसकिने राष्ट्र बैंकको भनाई छ ।
अहिल्यै विग मर्जरको कन्सेप्ट ल्याउँदा बैंकहरु सहज रुपमा चलाएमान हुन् सक्दैनन् । भर्खर पूँजी बढाएका बैंकहरुलाई केही समय काम गर्न दिएर मात्रै विग मर्जमा जानु उपयुक्त हुने भन्दै तत्काल विग मर्जर नहुने राष्ट्र बैंक उच्च स्रोतको भनाई छ । स्रोत भन्छ,‘तत्काल विग मर्जरमा जाँदा समस्या निम्तिन्छ ।’ जबरजस्ती मर्ज गर्दा बैंकलाई पुँजी पुर्याउन नसकेर अर्काे समस्या निम्तिन सक्ने भएकाले तत्काल विग मर्जर नहुने स्रोतको भनाई छ ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकमा यतिबेला विग मर्जरका विषयमा छलफल भइरहेको छ । तर तत्काल आउने संभावना भने छैन । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२.७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पूँजी ८ गुणा वृद्धि गरेको थियो । २०७४ असार मसान्तसम्म पूँजी पुर्याउनुपर्ने बैंकहरुले बल्ल पूँजी पुर्याएका छन् । विग मर्जरको विषयले बजारमा जति चर्चा पाएको छ, मौद्रिक नीतिमा त्यति चर्चा पाएको छैन । स्रोतले भन्यो ‘विग मर्जरको हल्ला मात्रै हो, तत्काल हुँदैन ।’
अर्थमन्त्री डा. युवराज खतिवडालाई विग मर्जरबारे सल्लाह दिएको भएपनि तत्काल आउन संभव नभएको स्रोतको दाबी छ । ‘मैले अर्थमन्त्री ज्युलाई विग मर्जरमा जानुपर्छ भन्ने सल्लाह दिएको थिएुँ, उहाँले पनि विचार गरिरहनु भएको होला ।’ स्रोतले भन्यो । स्रोतका अनुसार बैंकको संख्या २८ बाट घटाएर १४ मा झार्नुपर्छ भन्ने विषयमा छलफल भएपनि बैंकिङ क्षेत्रले तत्काल धान्न सक्ने अवस्था छैन । ’विग मर्जर हुन्छ, तर त्यसका लागि समय पनि लाग्छ ।’ स्रोतले भन्यो ।
राष्ट्र बैंकले बैंकका सिइओहरुलाई बोलाएर विग मर्जरका बारेमा छलफल गर्दा बैंकर्स सकारात्मक देखिएका थिए । बैंकहरु साकारात्म भएपनि धान्न सकिने अवस्था नभएकाले तत्काल मर्जर नहुने भएको हो । गभर्नर डा.चिरंजीबि नेपालले अर्थमन्त्री खतिवडासँग विग मर्जका विषयमा कुरा गर्न चाहेपनि समय व्यस्तताका कारण औपचारिक भेटमा छलफल हुन पाएको छैन । अर्थमन्त्री खतिवडाले पनि बैंकको संख्या घटाउन विग मर्जरमा जान चाहान्छन् । तर त्यस विषयमा भने व्यापक छलफल हुन पाएको छैन । मौद्रिक नीतिको शालाखाला ड्राफ बनेपनि अझै पनि बोर्डमा प्रवेश पाएको छैन ।
मौद्रिक नीतिमा समेटिन लागेका विषयहरु
राष्ट्र बैंकका अनुसार आगामी दिनमा लघुवित्त संस्थाहरुलाई पनि मर्ज गरिनेछ । अनुत्पादक क्षेत्रतर्फको लगानीलाई निरुत्साहित गर्दै बिलासीताका बस्तु आयातामा पनि कडाई गर्न लागिएको छ । स्रोतका अनुसार विलासीताका बस्तु बढी मात्रामा आयात हुँदा अनुत्पादक क्षेत्रको लगानी बढ्नुका साथै पछिल्लो समय देशको भुक्तानी सन्तुलन पनि घाटामा गएपछि त्यस्ता बस्तुको आयातमा कडाई गर्न लागेको हो ।
अनुत्पादक क्षेत्रको लगानीलाई निरत्साहित गर्नुका साथै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने राष्ट्र बैंकको योजना छ । कृषि,पर्यटन,उर्जा लगायतका क्षेत्रलाई राष्ट्र बैंकले उत्पादन क्षेत्र मानेको छ । त्यसैगरी, राष्ट्र बैंकले बैंकर्सले पटक पटक सिडिसी रेसियोलाई पुर्नविचार गर्न माग गरिरहेकाले खुकुलो बनाउने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदरमा सन्तुलन ल्याउने, मार्जिन ल्याण्डिङको सीमा बढाउने र स्प्रेड दर घटाउने योजना बनाएको छ ।