Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभरका प्रमुख बैंकिङ खबरहरु (आठ बुँदामा)

२०७५ असार १५ गते

बैंकिङ खबर । यो साता काठमाडौँमा सार्कस्तरीय गभर्नरहरुको सम्मेलन भयो । बुधबार सुरु भएर शुक्रबार सम्पन्न भएको यो ४७औँ सम्मेलन हो । त्यस्तै, शुक्रबार बैंकिङ कसुर अभियोगमा चार जना पक्राउ परे । शुक्रबारदेखि नै नेपाल बैंकले एफपिओ निष्काशन गर्यो । सेयर बजारमा चलिरहेको भ्याटसम्बन्धी विवादले बजार घटिरहेका कारण सेयर बिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा नेपाल बैंकको एफपिओमा आकर्षण कस्तो देखिएलाई भन्ने विषयमा यो साता धेरै चर्चा भयो । समग्रमा साताभर बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख बैंकिङ गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ ः

व्याज अनुदानका लागि कृषि कर्जाको सीमा वृद्धि
नेपाल राष्ट्र बैंकले ब्याज अनुदानका लागि योग्य व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जाको सीमा बढायो । राष्ट्र बैंकले बैंकहरुले लगानी गर्ने कृषि तथा पशुपंक्षी कर्जाको सीमा बढाएर पाँच अर्ब पुर्याएको छ । यसअघि बैंकहरुले यस प्रकारको कर्जा तीन अर्ब रुपैयाँ लगानी गर्दै आएकोमा राष्ट्र बैंकले ब्याज अनुदान सम्बन्धी कार्य्विधि, २०७३ को अनुसुचि १ मा संशोधन गर्दै उक्त सीमा पाँच अर्ब कायम गरेको हो । व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानका लागि योग्य कृषि व्यवसायहरुको सूचीमा ‘प्रांगरिक मल तथा जैविक मल’ समेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँमा सार्कस्तरीय गभर्नर्स सम्मेलन
नेपाल राष्ट्र बैंकले सार्कस्तरीय गभर्नरहरुको सम्मेलन आयोजना गर्यो ।सार्क र वरपरका देशलाई लक्षित गरी बुधबार सुरु गरिएको सम्मेलन शुक्रबार सकिएको छ । सम्मेलनमा विभिन्न १२ वटा देशका गभर्नर तथा डेपुटी गभर्नरले भाग लिएका छन् । हरेक देशमा आयोजना हुँदै आएको यो सम्मेलन अहिले नेपालमा भएको
हो । यो ४७औँ सम्मेलन हो । सम्मेलनमा भारत बंगलादेश, म्यानमार, अफगानिस्थान भुटान, माल्दिभ्स लगायतका देशहरुबाट गभर्नर तथा डेपुटी गभर्नरहरु आएका थिए । 

बैंकिङ कसुर अभियोगमा चार पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर अभियोगमा चार जनालाई पक्राउ गर्यो । सामुदायिक लघुवित्त वित्तिय संस्था काभ्रेको संचालक समिती र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा ऋण दुरुपयोग अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा संस्थाका सञ्चालक समिति अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान, सञ्चालक बटुकृष्ण कार्की र तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्वयम्भू राम जोशी रहेका छन् । जोशीको आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृतिबिना नै गुडविलका रुपमा साढे दुई करोड रुपैयाँ प्रवाह गरेको भेटिएको छ । त्यस्तै, उनले राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा आफु खुसी सात लाख ४४ हजारभन्दा बढि भुक्तानी लिएको पनि प्रहरीको आरोप छ ।

नेपाल बैंकको एफपिओ निष्काशन
नेपाल बैंक लिमिटेडले एफपिओ निष्कासन गर्यो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार आठ सय ८५ कित्ता एफपिओ निष्कासन गरेको हो । असार १९ गतेसम्ममा सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त नभएमा बढीमा ३० दिनसम्म निष्काशन खुला राखिने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिनदेखि नै संगठित संस्थाले आवेदन दिने पाउने बैंकले जनाएको छ । सम्पूर्ण सीआस्वा सदस्य बैंक र तीन बैंकका शाखाहरुबाट एफपिओ भर्न पाइनेछ ।  न्युनतम १० कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत ननाघ्ने गरी आवेदन दिन पाउने छन् । 

एनआईसी एशिया क्यापिटलको मोबाइल एप
एनआईसी एशिया क्यापिटल लिमिटेडले मोबाइल एप सेवा सुरु गर्यो । मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्यको जानकारी पनि यसै एपमार्फत पाइेछ । यसका अलावा प्रयोगकर्ताले नेप्से बजार रिपोर्ट तथा एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा समेत जानकारी प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोरमा उपलब्ध छ । प्ले स्टोरमा गएर एनआईसी एशिया क्यापिटल मोबाइल एप डाउनलोड गर्न सकिन्छ । एप्पल मोबाइलमा भने केही दिन उपलब्ध गराउने तयारी भइरहेको छ । जसपश्चात् एप्पलकोे ऐप स्टोरबाट पनि यो एप निःशूल्क रुपमा डाउनलोड गर्न सकिन्छ ।

शाखा विस्तार
एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत खोलिएका १४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरको एकैसाथ उद्घाटन गर्यो । 
ज्योति विकास बैंकले धादिङ्गको गल्छी, चितवनको पर्सा, नवलपरासीको वर्दघाट, काठमाडौंको टोखा र ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्यायो ।
मुक्तिनाथ विकास बैंकले काठमाडौँ महानगरपालिका वडा नं.१६, माछापोखरीमा आफ्नो शाखा कार्यालय विस्तार गर्यो ।

सम्झौता
मुक्तिनाथ विकास बैंक लिमिटेड र जनप्रिय बहुमुखी क्याम्पस पोखरा विचमा मानव संसाधन व्यवस्थापन गर्ने गरी एक आपसमा सम्झौता भयो ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भयो । 
ओम हस्पिटल एण्ड रिसर्च सेण्टर चावहिलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच सम्झौता भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबिच बैंकका ग्राहकलाई अस्पतालको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले रेनल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुपअन्तर्गतको थापाथली काठमाडौं स्थित एडभान्सड अटोमोबाइल्स प्रा.लि. सँग रेनल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्ने सम्बन्धी सम्झौता गर्यो ।
कृषि विकास बैंक लि. र रियान्डा बिज सर्भ प्रालिसँग सम्झौता भयो । 
मुक्तिनाथ विकास बैंक र सुमेरु सिटि अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भयो ।
सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता भयो ।

अन्य
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नं ३, ४ र ५ मा रहेको आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका ऋण विभाग प्रमुख तथा शाखा प्रबन्धकहरुलाई एक दिवसीय ऋण व्यवस्थापन तालिम प्रदान गर्यो ।

Ad