Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपालमा बीमा व्यवसाय नफस्टाउनुका तीन कारण (सुधारका टिप्ससहित)

२०७५ असार १४ गते

डा. युवराज खतिवडा, अर्थमन्त्री । बीमा एउटा सेवाको व्यापार हो । यहाँ सेवा आयात र निर्यात दुवै हुन्छ । हामीले पुनर्बिमा मार्फत सेवा बढी नै आयात गरिरहेका छौँ । अब बीमा सेवा निर्यात गर्नुपर्छ । यसमा बीमा कम्पनीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपालकै बीमा कम्पनीहरु पुनर्बिमा कम्पनीमा सेयरहोल्डर हुनुहुन्छ । तपाईँहरु सबैले बीमा सेवा निर्यात गर्ने गरी काम गर्नुपर्छ । व्यापारघाटा बढ्यो भनिरहँदा हामीले सेवाको घाटालाई हेर्न सकेका छैनौँ । वित्तीय, पर्यटन लगायत सबै सेवामा समेत हामीले घाटा व्यहोरिरहेका छौँ । वित्तीय सेवाको घाटा कम गर्न बीमा समितिले काम गरोस भन्ने मेरो शुभकामना छ । 

छिमेकी मुलुकको चलाखी 
यो त दृश्य आयातको मात्रै कुरा भयो । अदृश्य आयातको कुरा पनि छ । हाम्रो बीमा कम्पनी नपुगेका स्थानमा छिमेकी मुलुकका बीमा कम्पनी पुगिरहेका छन् । यसको छिटै अन्त्य हुनुपर्छ । यसका लागि बीमा कम्पनीले एक वर्षको कार्ययोजना तोकेर अघि बढ्नुपर्छ । सीमा क्षेत्रमा प्रवेश गरेका त्यस्ता कम्पनीहरुलाई कारबाहीको दायरामा ल्याउनेसम्मको कदम चाल्नुपर्छ । 

नेटवर्कीङ 
कसैकसैले राज्यले गरेन बीमा भनेर नेटवर्कीङ पनि चलाएका छन् । यो कानुन विपरीत हो । बीमा समितिले यस विषयमा पनि बिचार पुर्याउनुपर्छ । अहिले जीवन बीमा १० प्रतिशत पुगेको तथ्यांक छ । लघुबिमा कति छ भन्ने तथ्यांक छैन । कम्तीमा बीमा समितिले जीवन बीमा २५ प्रतिशत कति समयमा पुर्याउने र लघुविमा १० प्रतिशत कति वर्षमा पुर्याउने भनेर सीमा तोकेर अगाडी बढ्नु राम्रो हुन्छ । कम्तीमा चार वर्ष्भित्रमा यो लक्ष्य प्राप्ती गर्न सकियो भने बीमा क्षेत्रका लागि र समग्र मुलुकका लागि नै राम्रो हुन्छ । 

राम्रो कानुनी संरचनाको अभाव
एउटा राम्रो कानुनी संरचना अझैसम्म तयार हुन सकेको छैन । सरकार बीमालाई प्रोत्साहन गरिरहने तर बीमकहरुले ध्यान नदिने वा नियामकले यसमा जोड नदिने प्रथाको अब अन्त्य हुनुपर्छ । बीमा क्षेत्रले बैंकिङ क्षेत्रको नियमनबाट सिक्नुपर्ने धेरै कुरा छन् । लघुकर्जालाई तीनबाट पाँच प्रतिशत पुर्याउँदा बैंकिङ क्षेत्रमा कठिनाई भएको थियो । तर, अहिले छ प्रतिशतको हाराहारीमा लघुकर्जा प्रवाहित भएको छ । बीमामा पनि यो अवस्था छिटै देख्न पाइनुपर्छ ।