June 28th, 2018

सेयरमा लगानी गर्ने सुनौलो अवसर : असारभित्रै आउँदैछ तीन करोड कित्ता सेयर

रुपा कोइराला/बैंकिङ खबर । सेयरमा लगानी गर्ने सोचिरहनुभएको छ ? छ भने तयार रहनुहोस् । असार महिनाभित्रै चार कम्पनीले साधारण सेयर निष्काशन गर्दैछन् । चार कम्पनीको गरेर कुल तीन करोड ७४ हजार आठ सय ८५ कित्ता सेयर निष्काशन हुँदैछ । जसमध्ये, एक करोड ७६ लाख ८४ हजार आठ सय ८५ कित्ता एफपिओ निष्काशन हुँदैछ । त्यस्तै, १८ लाख कित्ता सेयर सम्बन्धित आयोजनाबाट प्रभावित स्थानीय वासिन्दाका लागि निष्काशन गरिँदैछ । बाँकी एक करोड पाँच लाख ९० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको छ ।

कुनकुन कम्पनीको सेयर कहिले आउँदैछ ?
नेपाल बैंकले शुक्रबार(असार १५ गतेदेखि) एफपिओ निष्काशन गर्दैछ । असार २२ गतेदेखि घलेम्दी हाइड्रो र माउन्टेन हाइड्रोले आयोजना प्रभावित स्थानीवासीलाई लक्षित गरेर सेयर निष्काशन गर्दैछन् । त्यस्तै, अपर तामाकोशी हाइड्रोले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दैछ । 

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले असार १५ गतेदेखि एफपिओ निष्कासन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार आठ सय ८५ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो । असार १९ गतेसम्ममा सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त नभएमा बढीमा ३० दिनसम्म निष्काशन खुला राखिने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिनदेखि नै संगठित संस्थाले आवेदन दिने पाउने बैंकले जनाएको छ । सम्पूर्ण सीआस्वा सदस्य बैंक र तीन बैंकका शाखाहरुबाट एफपिओ भर्न पाइनेछ । न्युनतम १० कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत ननाघ्ने गरी आवेदन दिन पाउने छन् । विगत तीन वर्षको नेटवर्थमा औसत प्रतिफल २७.६ प्रतिशत रहेको छ । बैंकको क्रेडिट रेटिङ “केयर(एनपि आइपिओ ग्रेड ३ प्लस“ रहेको छ । यस रेटिङले संस्थाको अवस्था औसत आधार राम्रो रहेको देखाउँछ ।

घलेम्दी हाइड्रोपावर
घलेम्दी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रको लागि ५ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न लागेको छ । कम्पनीले म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिकाका बासिन्दाको लागि असार २२ गतेदेखि छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेसम्मको लागि सार्वजनिक शेयर निष्काशन गर्ने भएको हो । प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम ५० कित्तादेखि अधिकतम २७५० कित्तासम्मको लागि आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाले ग्लोबल आइएमइ बेनि म्याग्दी, प्रभु बैंक बेनी, गरिमा विकास बैंक पोखरेवगर, माछपुच्छ्रे बैंक वेनीबाट आवेदन दिन पाउने छन् । कम्पनीले निष्काशन गरेको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री गर्न पाउने छैनन् । इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपि आइपिओ ग्रेड ४’ रहेको छ ।  

माउन्टेन हाइड्रो नेपाल लिमिटेड
माउन्टेन हाइड्रो नेपाल लिमिटेडले पनि असार २२ गतेदेखि नै साधारण सेयर (आईपीओ) निष्काशन गर्दैछ । माउन्टेनले आयोजना प्रभावित क्षेत्र पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीका तथा पाँचथरका अन्य बासिन्दाको लागि एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । यसमध्ये, आयोजना प्रभावितलाई सात लाख ५० हजार कित्ता र जिल्ला अन्य क्षेत्रबासीलाई पाँच लाख कित्ता सेयर छुट्याइएको छ । सेयर निष्काशन छिटोमा साउन ४ गने र ढिलोमा भदौ २० गते बन्द हुने छ । हाइड्रोको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । न्युनतम ५० देखि अधिकतम छ  हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । पाँचथरको सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंक, सिभिल बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र माउन्टेन हाइड्रोबाट उक्त सेयरका लागि आवेदन दिन पाइनेछ ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनी
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भने असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्दैछ । कम्पनीले पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरका एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।  साउन ९ गतेसम्म निष्काशन खुला रहने सेयरमा न्युनतम ३० कित्ता र अधितम ३०० कित्तासम्मको लागि आवदेन दिन पाइनेछ ।  प्रभावित क्षेत्रका बासिन्दाले दोलखाको आयोजना निर्माणस्थल त्यस्तै दोलखामा रहेका बैंकहरु कृषि विकास बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंकका शाखा कार्यालयबाट आवेदन दिन पाउने छन् । सर्वसधारणको लागि भने धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने ब्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । यस सेयरको लागि सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । कम्पनीले क्रेडिट रेटिङ इक्रा एनपी ग्रेड ४ पाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]