बैंकिङ खबर । व्याजदरसम्बन्धी नयाँ भद्र सहमति भएसँगै बैंकहरु धमाधम व्याजदर घटाउन थालेका छन् । नेपाल बैंकर्स संघले केही समयअघि करिब पाँच महिनादेखिको सहमति खारेज गरेको थियो । सो सहमति खारेजसँगै बैंकिङ प्रणालीमा व्याजदर वृद्धिको चर्काे प्रतिस्पर्धा चलेपछि राष्ट्र बैंक तथा अर्थमन्त्रालयको सहमतिमा व्याजदरमा विहीबारदेखि पुनः सीमा लगाइएको थियो । जसपश्चात् व्याजदर बढाएर सीमाभन्दा माथि पुर्याएका बैंकहरुले व्याजदर घटाउन थालेका छन् ।
सेञ्चुरी कमर्सियल बैंकले बचत खाताको ब्याज दर सात प्रतिशतमा झारेको छ भने मुद्दति खाताको ब्याज दर साढे १० प्रतिशत कायम गरेको छ । बैंकले एक बर्षको निक्षेपमा साढे १० प्रतिशत ब्याज दिने र ब्याज भुक्तानी त्रैमासिक रुपमा गर्ने जनाएको छ । एनआईसी एशिया बैंकले पनि मुद्दतिमा साढे १० प्रतिशत र बचतमा सात प्रतिशत व्याजदर कायम गरेको छ । सिटिजन्स बैंकले पनि मुद्दति खातामा साढे १० प्रतिशत व्याजदर दिइरहेको छ । यसबाहेक, यसअघि व्याजदर बढाएका प्राइम कर्म्र्सियल बैंक, सिभिल बैंक लगायतले पनि व्याजदर घटाएका छन् । व्याजदर बढाउन नपाइने भएपछि अब बैंकहरुले खातामा दिइने सुविधा बढाएर निक्षेप तान्ने जुक्ति लाउन थालेका छन् । बीमा सुविधा, कर्जा सुविधा लगायतको व्यवस्था गरी निक्षेपकर्तालाई आकर्षित गरेका छन् ।
यस्तो छ सहमति
केही समयअघि खारेज भएको भद्र सहमतिपछि बैंकहरुले निक्षेपको व्याजदर १४ प्रतिशतसम्म र कर्जाको व्याजदर १७।१८ को हाराहारीमा पुर्याएका थिए । नयाँ सहमति अनुसार, संस्थागत निक्षेपको व्याजदर साढे १० प्रतिशत मात्र कायम हुनेछ । यस्तै, सर्वसाधारण निक्षेपकर्तालाई बढिमा ११ प्रतिशत ब्याज दिइने बैंकर्सहरुविच सहमति भएको छ । यसअघिको सहमतिमा संस्थागत निक्षेपलाई ११ दशमलव १५ प्रतिशतसम्म दिन पाइने व्यवस्था थियो । पुरानो सहमति अनुसार साधारण बचतको व्याजदर ८ प्रतिशतसम्म बचतमा थियो । नयाँ सहमति अनुसार अब बचतमा अधिकतम ७ प्रतिशत मात्र ब्याज कायम गर्ने सहमति भएको छ ।
व्याज भुक्तानी त्रैमासिक मात्रै
अब बैंकहरुले सबै ब्याजको भुक्तानी त्रैमासिक रुपमा मात्र गर्ने गरी सहमति भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ऋणको ब्याजदरमा पनि अंकुस लगाइने भएको छ । निक्षेप तथा कर्जाको व्याजदर धेरै महँगो भएको तथा समग्र बैंकिङ क्षेत्रको इमेज पनि बिग्रिएको भन्दै व्याजदरमा पुनः सीमा लगाइएको बैंकर्स संघले बताएको छ ।