बैंकिङ खबर । म्युचुअल फण्डबाट लगानीकर्तालाई फाइदा पुग्ने मात्र हाइन यसले धितोपत्र बजारको विकासमा समेत मद्दत गर्दछ । यसले देशमा छरिएर रहेका बचतलाई एकत्रित गरी अर्थतन्त्रको सबल विकासमा योगदान पुर्याउँदछ ।
म्युचुअल फण्डबाट लगानीकर्तालाई हुने फाइदाहरु
धितोपत्र बजार प्राविधिक प्रकृतिको हुन्छ । यसमा लगानी गर्नका लागि लगानीकर्तामा लगानी विश्लेषण गर्नका लागि वित्तीय ज्ञान, समय, लगानी विश्लेषणका लागि आवश्यक तथ्यांक र लगानी गर्ने निर्णयमा पुग्नका लागि लगानी विश्लेषणका प्रविधि आवश्यक पर्दछ । यी सबै कुराहरुको व्यवस्था गर्नु कुनै एक व्यक्तिका लागि सम्भव हुँदैन र सम्भव भएको अवस्थामा समेत लगानीको आकार उल्लेखनीय रहेनछ भने लगानीको लागत अनुरुपको प्रतिफल प्राप्त गर्न सकिँदैन । साथै व्यक्तिगत लगानीकर्तामा पर्याप्त लगानी रकम नभएको अवस्थामा वा लगानीकर्तासँग भएको सानो बचत रकम लगानी गर्दा उपयुक्त तवरले विविधीकरण गर्न सकिदैन जसले फलस्वरुप लगानी जोखिम बढी हुन्छ । यस अवस्थामा लगानीकर्ताहरुले म्युचुअल फण्डमा लगानी गर्न उपयुक्त हुन्छ । म्युचुअल फण्डबाट लगानीकर्ताहरु देहायअनुसारले लाभान्वित हुन सक्दछन् ।
(क) सहज सहभागिता
म्युचुअल फण्डमा तपाईले आफ्नो सानो रकम समेत लगानी गर्न सक्नुहुनेछ । सामुहिक लगानी कोष नियमावली, २०६७ गरेको व्यवस्था अनुरुप म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गरिने योजनाका इकाईहरुको प्रति इकाई मूल्य रु.१० (दश) तोकिएको छ । साधारणयता न्युनतम खरिद गर्नुपर्ने इकाई संख्या १०० कायम गरेको छ । यसरी तपाईले खरिद गर्नुपर्ने न्युनतम इकाई संख्या १०० रहेको अवस्थामा तपाईले रु.१००० (एक हजार) मात्र पनि लगानी गर्न सक्नुहुनेछ । तपाईले यदि कुनै कम्पनीको सेयर गर्न लाग्नुभएको छ भने सेयर खरिद गर्न सक्ने अवस्था नहुन सक्छ । यसैगरी खुलामुखि योजनाको हकमा अझ तपाईले चाहेको समयमा योजना व्यवस्थापक कम्पनी वा निजले तोकेको स्थानहरुबाट योजनाका इकाईहरु खरिद गर्न सकिने व्यवस्था गरिएको हुन्छ । यसरी म्युचुअल फण्डमा सानो रकमबाट पनि सहजरुपले सहभागिता जनाउन सकिन्छ ।
(ख) लगानी विविधता
तपाईको लगानी रकमलाई तपाईले कुनै एक क्षेत्रमा मात्र लगानी गर्नुभएको छ भने त्यस अवस्थामा तपाईले लगानी गरेको क्षेत्रमा कुनै समस्या आईपरेमा तपाईको सम्पुर्ण लगानी डुब्ने सम्भावना हुन्छ । तसर्थ पोर्टफोलियो व्यवस्थापनको सिद्घान्त अनुरुप पनि तपाईको लगानी रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ । यस्तो गर्नु भयो भने कुनै एक क्षेत्रमा समस्या आई त्यसमा गरेको तपाईको लगानी घाटामा गएको अवस्थामा समेत अर्को क्षेत्रमा तपाईले गर्नुभएको लगानीको नाफाबाट उक्त घाटा पूर्ति गर्न सक्नुहुनेछ । धितोपत्रको लगानीमा समेत तपाईले यहि सिद्घान्त अनूरुप लगानी गर्नु उपयुक्त हुन्छ । तर यसका लागि तपाईसँग प्रयाप्त लगानी रकम सानो रहेको र लगानी रकम हुनु आवश्यक पर्दछ । तपाईका लगानी रकम सानो रहेको र लगानी विविधीकरणका लागि पर्याप्त नरहेको अवस्थामा तपाईको लगानीको उत्तम विकल्प म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजना नै हो जसबाट तपाईको सानो भन्दा सानो रकमको समेत लगानी विविधीकरण हुन जान्छ किनकी तपाईजस्तै लगानीकर्ताबाट स— सानो रकम जम्मा गरी तयार गरिएको ठुलो रकमलाई उक्त योजनाले विभिन्न धितोपत्र तथा अन्य लगानीका क्षेत्रहरुमा लगानी गरी उपयुक्त तवरले लगानी विविधीकरण गरेका हुन्छ । यसरी लगानी गर्दा सो योजनामा लगानी गर्नुभएको तपाईको सानो रकम समेतको लगानी सोही अनुपातमा विविधीकरण हुन जाने हुँदा लगानी जोखिम समेत न्यूनीकरण हुन जान्छ ।
(ग) व्यवसायिक व्यवस्थापन
धितोपत्र लगायतका कुनै पनि क्षेत्रमा लगानीका लागि लगानीकर्तामा पर्याप्त मात्रामा त्यस क्षेत्रको प्रविधिक ज्ञान तथा लगानी व्यवस्थापन गर्ने व्यावसायिक क्षमता हुनु जरुरी हुन्छ जुन साधारणतया कुनै एक व्यक्तिले यस्तो व्यवस्था गर्न सम्भवप्राय हुँदैन । म्युचुअल फण्डका योजनाहरु सञ्चालनमा ल्याउनका लागि कुनै पनि संगठित संस्थालाई आवश्यक पूर्वाधार, लगानी विशेषज्ञ, विभिन्न लगानीका क्षेत्रहरु सम्बन्धी वित्तीय तथ्याङ्क तथा विवरणको संग्रह, वित्तीय तथा अन्य विवरण तथा सूचनाहरुलाई विश्लेषण गरी सो का आधारमा लगानी निर्णयमा पुग्न सघाउ पु¥याउने विधिहरु हुनु जरुरी जसको व्यवस्था गरेको अवस्थामा मात्र नियमन निकायबाट त्यस्तो संगठित संस्थालाई योजना व्यवस्थापन गर्ने अनुमति प्रदान गरिन्छ । यसरी यस्ता योजना व्यवस्थापकले लगानी लागि सम्पूर्ण आवश्यक व्यवस्था गरी तपाईको रकमको लगानी व्यवस्थापन गर्ने हुँदा व्यावसायिक लगानीको दृष्टिकोणबाट समेत म्युचुअल फण्ड अन्तर्गत योजनामा लगानी गर्नु नै तपाईको लागि उत्तम विकल्प हुन्छ ।
(घ) कम लागत
धितोपत्र बजारमा लगानी गर्दा वा अन्य क्षेत्रमा लगानी गर्दा विभिन्न प्रकारका शुल्कहरु लाग्ने गर्दछ । कुनै एक सानो कारोवार गर्दा र ठूलो कारोवार गर्दा लाग्ने प्रक्रिया एउटै हुने र त्यसमा उत्तिकै समय खर्च गर्नुपर्ने हुन्छ । यस वाहेक सानो कारोवारमा लाग्ने शुल्क तुलनात्मक रुपले कम हुन्छ । यसले कारोवार लागत तुलनात्मक रुपले सानो सानो कारोवारमा भन्दा ठूलो कारोवारमा कम हुने कुरा प्रष्ट पार्दछ । तपाईसँग भएको सानो रकमको लगानी गर्दा लाग्ने लागत समेत यस्तै प्रकारले बढी रहेको छ । तसर्थ तपाईको सानो लगानीलाई म्युचुअल फण्ड अन्तर्गतको योजनाका इकाईहरुमा लगानी गर्नुभयो भने यस्ता साना साना सकम जम्मा गरी ठूलो रकम योजना व्यवस्थापकले लगानी गर्दा सो को लागत समेत समानुपातिक हिसावले तपाईको लगानी रकममा भाग लगाउँदा तपाई आफैले गर्दा लाग्ने लागत भन्दा निकै कम लागत पर्न आउँछ । तसर्थ म्युचुअल फण्डमा लगानी गर्दा लागने लागत समेत कम हुन आउँछ ।
(ङ) तरलता
आज तपाईसँग रहेको बचत लगानीका लागि उपलब्ध भए तापनि भोलिका दिनमा तपाईलाई रकमको आवश्यकता पर्न सक्ने हुन्छ । यस्तो अवस्थामा तपाईले गरेको लगानीलाई रकममा परिणत गर्ने सहज व्यवस्था भएमा तपाईको व्यावहारिक समस्या समेत हल हुन्छ । आज तपाईले गरेको लगानीलाई आवश्यक पर्दा रकममा परिणत गर्न नसक्ने हो भने उक्त लगानी गर्नुको कुनै औचित्य हुँदैन । म्युचुअल फण्डमा तपाईले गरेको लगानीलाई उचित मुल्यमा कुनै पनि समय तपाईले बिक्री गर्न सक्नुहुनेछ । बन्द मुखि योजनामा लगानी गर्नुभयो भने तपाईले खरिद गरेको इकाईहरु स्टक एक्सचेन्ज मार्फत बिक्री गर्न सक्नुहुनेछ । खुला मुखि योजनाको हकमा तपाईले कुनै पनि समयमा योजना व्यवस्थापक वा निजले तोकेको स्थानमा गई बिक्री गर्न सक्नुहुनेछ । म्युचुअल फण्डमा तपाईले गरेको लगानी यस प्रकार तरलतामा परिणत गर्न सकिन्छ ।
(च) पारदर्शिता
सामूहिक लगानी कोष नियावली, २०६७ ले गरेको व्यवस्था अनुरुप म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको सञ्चालन तथा प्रगतिका सम्बन्धमा योजना व्यवस्थापकले नियमित रुपले सार्वजनिक जानकारी गराउनुर्दछ । नियमावलीले गरेको व्यवस्था अनुसार योजना व्यवस्थापकले आफुले सञ्चालन गरेका प्रत्येक योजनाको खुद सम्पत्ति मूल्य, इकाई बिक्री र पुनर्खरिद मूल्य प्रत्येक हप्ता कम्तीमा एकपटक सार्वजनिक गर्नुपर्दछ । साथै योजनाको लगानी रकम, लगानी गरिएको धिताोपत्रको बजार मूल्य, योजनाको आम्दानी तथा खर्चहरु, प्रति इकाई खुद सम्पत्ति मूल्य तथा त्यस्तो गणनाको आधार आदि सम्बन्धी विवरण प्रत्येक महिना सार्वजनिक गर्ने तथा कोष सुपरिवेक्षक र नेपाल धितोपत्र बोर्डलाई जानकारी गराउनुपर्दछ । बन्द मुखि योजनाको हकमा यस्ता योजनाका इकाईहरु स्टक एक्सचेन्जमा सूचिकृत भई कारोवार हुने हुँदा सो को दैनिक बजार मूल्य सम्बन्धी जानकारी नियमित प्राप्त गर्न सकिने भयो । खुला मुखि योजनाको हकमा समेत कोष व्यवस्थापकले सो को बिक्री तथा पुनर्खरिद मूल्य दैनिक जानकारी गराउने हुँदा सो को कारोवार सम्बन्धमा समेत नियमित जानकारी हुने भयो । उपरोक्तानुसारका व्यवस्थाबाट योजनाका इकाईधनीहरुलाई आफुले गरेको लगानीका सम्बन्धमा नियमित रुपमा जानकारी प्राप्त हुने भयो र यसरी गराइएको जानकारीमा कुनै कैफियत भए कोष सुपरिवेक्षक तथा नेपार धितोपत्र बोर्डको नियमित सुपरिवेक्षकबाट सुधार गरी यस्तो जानकारी प्रतिको विश्वसनीयता अभिवृद्धि हुने भयो । यसरी मयुचुअल फण्ड अन्तर्गतका योजनाहरु पारदर्शी ढंगले सञ्चालन गरिएको हुन्छ ।
(छ) कर बचत
म्युचुअल फण्डले धितोपत्र बजारको दिगो विकासमा सघाउ पुर्याई यस बजार मार्फत उत्पादनशील क्षेत्रमा साना साना लगानीलाई परिचालन गर्न तथा देशको उद्योग धन्दामा सर्वसाधारण जनताको सहभागिता गराई सो को प्रतिफलमा समेत उनिहरुको सहभागिता गराउने र यसबाट देशको अर्थतन्त्रको दिगो विकासमा ठूलो योगदान पुग्न जाने हुँदा धितोपत्र बजार रहेको हरेक मुलुकमा म्युचुअल फण्डलाई प्रोत्साहन गर्नका लागि यस अन्तर्गत सञ्चालन गरिने योजनाको आयमा कर नलाग्ने, यसले इकाईधनीहरुलाई वितरण गर्ने लाभांशमा कर नलाग्ने, इकाईधनीहरुले म्युचुअल फण्डमा गरेको निश्चित लगानी रकमलाई कर योग्य आयबाट घटाउन पाउने तथा इकाईको खरिद बिक्रीमा हुने पुँजीगत लाभमा समेत कर नलाग्ने व्यवस्था गरेको पाइन्छ । नेपालमा समेत नेपाल सरकार तथा नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गर्न लागेको जानकारी आएको छ । यस्तो व्यवस्था भएमा इकाईधनीहरुलाई सोही अनुसारको कर लाभ हुन्छ ।