Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभरका बैंकिङ खबर : विग मर्जर र बैंकिङ व्याजदरको चर्चा बढी

२०७५ असार ८ गते

बैंकिङ खबर । मौद्रिक नीतिमा विग मर्जरको चर्चा र बैंकिङ व्याजदरमा पुनः सीमाको विषयले यो साता सर्वाधिक चर्चा बटुल्यो । त्यस्तै, सेयर बजारमा लाभकरको विषयमा अध्ययन गर्न गठित समितिले अर्थमन्त्रालयलाई आफ्नो सुझाव पेश गर्यो । समग्रमा, साताभरमा भएका प्रमुख बैंकिङ गतिवधिहरु यहाँ प्रस्तुत गरिन्छ :

बैंकिङ व्याजदरमा सीमा
नेपाल बैंकर्स संघले व्याजदरमा फेरी सीमा लगायो । सञ्चालनमा रहेका २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु सहभागी बैठकले व्याजदरमा पुनः सीमा लगाउने सहमति गरेको हो । नयाँ सहमति अनुसार, संस्थागत निक्षेपको व्याजदर साढे १० प्रतिशत मात्र कायम हुनेछ । यस्तै, सर्वसाधारण निक्षेपकर्तालाई बढिमा ११ प्रतिशत ब्याज दिइने बैंकर्सहरुविच सहमति भएको छ । त्यस्तै, बचतमा अधिकतम ७ प्रतिशत मात्र ब्याज कायम गर्ने सहमति भएको छ । अब बैंकहरुले सबै ब्याजको भुक्तानी त्रैमासिक रुपमा मात्र गर्ने गरी सहमति भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ऋणको ब्याजदरमा पनि अंकुस लगाइने भएको छ ।

बिग मर्जरको चर्चा
आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विग मर्जरको नीति ल्याउने विषयले निरन्तर चर्चा पाइरहेको छ । यही विषय टुंगो नलागेका कारण मौद्रिक नीतिमा पनि ढिलाई भएको छ । यस विषयमा राष्ट्र बैंक र अर्थमन्त्रालयबीच छलफल भइरहेको छ । बैंकर्सहरुले पनि विग मर्जरलाई लिएर मिश्रित प्रतिक्रिया दिएका  छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या १५।१६मा झार्ने गरी विग मर्जरको योजना बनाइरहेको बुझिएको छ । यद्यपि, अर्थमन्त्रालयको स्वीकृतिबिना भने यो विषय यसपालीको मौद्रिक नीतिमा समावेश गरिने छैन । 

लाभकर गणनाका लागि सुझाव
सेयर कारोबारमा पुँजीगत लाभकर गणनासम्बन्धी अध्ययन गर्न गठित समितिले सरकारलाई ’वेटेज् एण्ड एभरेज’ का आधारमा हकप्रद र बोनस शेयरको आधार मूल्य निकालेर पुँजीगत लाभकर गणना गर्न सुझाव दियो । अर्थमन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिले अल्पकालिन र दिर्घकालिन लगानीको आधारमा लाभकर लगाउने व्यवस्था गर्न पनि सुझाएको छ । सुझाव प्रतिवेदनमा कुनै लगानीकर्ताले बोनस वा हकप्रद सेयर प्राप्त गर्दा वेटेज एभरेज भन्दा बढि मूल्यमा शेयर बिक्री गरेमा मात्र पूँजीगत लाभकर लागू गर्न भनिएको छ । त्यसैगरी समितिले भारतमा जस्तै अल्पकालिन र दिर्घकालिन लगानीको आधारमा लाभकर लगाउने व्यवस्था गर्न सुझाएको छ । सेयर कारोबारमा कारोबार कर लगाउने विकल्पसहितको सुझाब समितिले दिएको छ ।

नोट धुल्याउने नयाँ नियमावली
नेपाल राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०५९ को संशोधन गरी नयाँ नियमावली लागू गर्यो । नियमावलीमा राष्ट्र बैंकले धुल्याउन छुट्याएका नोटहरुको थान गन्ती गरी लगत खडा गरी राख्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको लागि प्राप्त हुन आएका नोटहरु, मुद्रा व्यवस्थापन विभाग वा शाखा वा उपशाखा कार्यालयहरुले चलनचल्तीमा ल्याउन अयोग्य ठहर्याएका नोटहरु, बैंकको सञ्चालक समितिले चलनचल्तीमा ल्याउन उपयुक्त नहुने भनी ठहर गरेका नोटहरु, बैकिंग, वित्तीय वा मुद्राको कारोवार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरुले चलनचल्तीमा ल्याउन योग्य नभएको भनी बैंकमा दाखिला गरेका झुत्रा नोटहरु एवम् बैकिंग, वित्तीय वा मुद्राको कारोवार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरु, सरकारी वा अन्य निकायबाट बैकिंग कारोवारको सन्दर्भमा बैंकमा दाखिला हुन आएका नोटहरु मध्ये नक्कली भनी बैंकले जफत गरेका र कारवाही चलाउन स्पष्ट आधार नभएका नोटहरु लाई धुल्याइने नियमावलीमा उल्लेख छ । 

नविल बैंकको सीईओमा अनिल शाह
नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनिल केशरी शाह नियुक्त भए । बैंक संचालक समितिको विहीबार (असार ७ गते) बसेको संचालक समितिको ४८८औँ वैठकले विहीबारदेखि नै लागू हुने गरी शाह लाई सीईओ नियुक्त गरेको हो । मेगा बैंक नेपाल लिमिटेडको सीईओ पदबाट अवकाश भएपछि शाह नविल बैंकमा डेपुटी सीईओको रुपमा कार्यरत थिए । छ महिनाको कुलियङ पिरियडसम्बन्धी व्यवस्थाका कारण उनलाई सुरुमा डेपुटी सीईओको रुपमा नियुक्त गरिएको थियो । अब कुलिङ पिरियड सकिएपछि उनलाई चाल वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो ।

शाखा तथा सेवा विस्तार
एनआईसी एशिया बैंक लिमिटेडले मोरङ्ग जिल्लाको ग्रामथान गाउँपालिकास्थित लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्यायो । 
ओम डेभलपमेन्ट बैंक लि.ले काठमाडौंको न्यूरोडमा शाखा बिस्तार गर्यो ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सल्यानको छत्रेश्वरी गाउपालिकास्थित लान्तीमा आफ्नो ७२औँ शाखा विस्तार गर्यो ।
गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गर्यो ।
काभ्रेपचान्चोक जिल्लाको नमोबुद्ध न.पा. वडा नं. ७ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय भकुण्डेबेंसीको उद्घाटन भयो ।
जनसेवी लघूबित्त बित्तीय संस्थाले आफ्नो २१ औं शाखा गुल्मीकोे पुर्तिघाटमा विस्तार गर्यो ।

सम्झौता
कुमारी बैंक लिमिटेडले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गर्यो ।
मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भयो ।

सहयोग
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले श्री भैरहवा नमुना उच्च मा.वि.का लागि पाँच जना बिद्यार्थीलाई छात्रवृत्ति र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गर्यो ।
महालक्ष्मी विकास बैंक लिमिटेडले मृतक कर्मचारीको परिवारलाई आर्थिक सहयोग गर्यो ।
बैंकमा आवद्ध सीमान्तकृत समुदायलाई लक्षित गरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. १, घोरबन्दाका कुमाल र दलित समुदायलाई निःशुल्क आधुनिक चुल्हो वितरण गर्यो ।

अन्य
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुस्कार वितरण गर्यो ।
सिभिल बैंक लिमिटेड छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध भयो ।
कृषि विकास बैंकको चितवनस्थित माडी शाखाले सामुदायिक सिकाई केन्द्रको समन्वयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्यो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विराटनगर शाखा आफ्नै भवनमा सर्यो ।
लमजुङको सुनदरबजार नगरपालिकामा सनराइज बैंकले स्वस्थ्य सेवा सम्बन्धी कार्यक्रम सम्पन्न गर्यो ।
प्रभु इन्स्योरेन्स लिमिटेडले चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्यो ।
निर्धन उत्थान बैंक लिमिटेडले पाल्पा जिल्लाको आर्यभज्याङ्गमा तीन दिने “ब्यवसायिक कुखरापालन तालिम” सम्पन्न गर्यो ।

Ad