बैंकिङ खबर । व्याजदरको सम्बन्धमा बैंकर्सहरुबीच भएको भद्र सहमति तोडिएसँगै बैंकहरुबीच व्याजदरमा प्रतिष्पर्धा सुरु भएको छ । बैंकर्स संघले ११ प्रतिशतभन्दा बढी व्याज नदिने भन्दै गरेको सहमति आइतबार खारेज गरेको थियो । उक्त सहमति खारेज भएसँगै बैंकहरु धमाधम व्याजदर बढाउन थालेका छन् ।
निक्षेपमा धमाधम व्याज बढाइँदै
एनआईसी एशिया बैंकले मासिक रुपमा व्याज दिने गरी १२ प्रतिशत वार्षिक व्याजदर भएको धनवर्षा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । एनआईसी एशिया बैंकलाई पनि उछिन्दै सिभिल बैंकले लिमिटेडले मुद्दतिमा मात्र नभएर बचत खातामा समेत व्याजदर बढाएको छ । सिभिलले बचतकर्तालाई उच्च प्रतिफल दिने भन्दै २२२ दिने मुद्धती खातामा १२.२२ प्रतिशत र चन्द्रसूर्य बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले एक बर्ष वा सोभन्दा बढी अवधिको मुद्धती निक्षेपमा बार्षिक १२ प्रतिशत ब्याजदर प्रदान गरेको छ । सेञ्चुरी बैंकले पनि मुद्दति निक्षेपमा १२.५ प्रतिशतसम्म व्याज दिएको छ । बैंकले तीनदेखि छ महिनासम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र छ महिनादेखि एक वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँं योजना ल्याएको छ ।
कर्जाको व्याजदर पनि बढ्ने संकेत
निक्षेपकर्तालाई मात्रै आकर्षित गर्ने गरी बैंकहरुले धमाधम व्याजदर बढाउँदा कर्जा ग्राहकहरु पनि मारमा पर्ने भएका छन् । निक्षेपमा दिएको व्याजलाई कभर गर्ने गरी बैंकहरुले कर्जामा व्याज बढाउने संकेट देखिएपछि ऋणीहरु समस्यामा पर्ने भएका हुन् । अहिले बैंकहरुले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जाबीचको अन्तर (स्प्रेड रेट) पाँच प्रतिशत रहेको छ । यसको मतलब कुनै बैंकले निक्षेपमा दिएको व्याजको तुलनामा कर्जा दिँदा लिने व्याज पाँच प्रतिशतभन्दा बढी हुनु हुँदैन । यस आधारमा हेर्दा, बैंकहरुले निक्षेपको व्याज जति बढाउँदै लैजान्छन्, त्यही अनुपातमा कर्जाको व्याजदर पनि बढ्दै जाने देखिन्छ । एकातिर धेरै व्याज पाएर निक्षेपकर्ताहरु मख्ख देखिन्छन् भने अर्कोतर्फ कर्जाको व्याज बढिरहँदा कर्जा लिने ग्राहकहरु ठूलो समस्यामा परेका छन् । व्याजदरको यस किसिमको अस्थिर अवस्थाले औद्योगिक विकासमा समेत प्रभाव पार्ने हुन्छ । त्यसैले, उद्योग व्यवसायीहरुले व्याजदरको सम्बन्धमा राष्ट्र बैंकको हस्तक्षेप हुनुपर्ने आवाज समेत उठाउन थालेका छन् ।